Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म र हनिमुन दुवैको प्लानिङ भइरहेको छ : हरिहर र नीता

फिल्मीखबर, काठमाडौं, 2022/07/11
अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले प्रेम सम्बन्धलाई गत शुक्रवार विवाहमा परिणत गरे । हिन्दू परम्पराअनुसार विवाहको सम्पूर्ण कार्य सकिएपछि यो जोडीले आइतवार काठमाडौंको होटल याक एन्ड यतिमा रिसेप्सन पार्टी दियो । पार्टीमा काठमाडौंका मेयर बालेन शाहदेखि अभिनेता राजेश हमालसम्म नव-विवाहित जोडीलाई बधाई दिन पुगेका थिए । 
 
पार्टीमा नीता र हरिहर दुवैले रंग मिलाएर पहिरन लगाएका थिए । हरिहर गाढा पहेंलो रंगको सुट-बुटमा ठाटिएका थिए भने नीताले आकर्षक लेहंगा लगाएकी थिइन् । उनको सिउँदो सिन्दूरले छपक्क थियो । दुवै प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाएकोमा खुशी देखिन्थे । विवाह बन्धनमा बाँधिँदै गर्दा रमाइलो, अनौठो, नर्भस, जिम्मेवारी सबै खालको भावना मिश्रित हुने नीताले बताइन् । 
 
harihar adhikari and neeta dhungana
 
बेहुली भएर श्रीमानको घर भित्रिँदाको क्षण सम्झँदै नीताले भनेकी छन्, ‘लक्ष्मीको रुपमा मलाई घरमा भित्राउनुभयो । हरिहरजीको परिवारबाट धेरै माया पाएको छु र धेरै जिम्मेवारी पनि बहन गर्दिनुभएको छ । लक्ष्मीको रुपमा श्रीमानको घरमा भित्रिएको छु । अब त्यो घरका लागि के गर्ने भन्ने कुरा दिमागमा आउँदो रहेछ । म श्रीमती, बुहारी र भाउजुको नाताले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’ 
 
हरिहर र नीताले हनिमुनका लागि घुम्न निस्कने प्लानिङ पनि भइरहेको बताए । तर, हनिमुनभन्दा अगाडि फिल्म ‘ह्रस्व दीर्घ’को काम अगाडि बढाउने नीता बताउँछिन् । उनले भनिन्, ‘हनिमुनका लागि देशभित्र वा देशबाहिर जाने भन्ने प्लानिङ भएको छैन । विवाह सम्पन्न भएपछि प्रोजेक्टको काममा अगाडि बढ्नेछौं । त्यो बीचमा समय निकाएर हनिमुनका लागि गइएछ भने गइएला ।’ 
 
सञ्चारकर्मीले आमा-बुबा बन्ने योजनाको विषयमा सोधेको प्रश्नमा भने हरिहर र नीता केही लजाए । ‘साथी हुँदा गर्लफ्रेन्ड-ब्याईफ्रेन्ड भनेर सोधिन्थ्यो । श्रीमान्-श्रीमती भयौं अब बच्चा कहिले भनेर सोध्न सुरु हुन्छ,’ यति भनेपछि नीताले हाँसेरै प्रश्न टारिदिइन् । ‘नीता फिल्मस्’को ब्यानरबाट बन्ने फिल्म ‘ह्रस्व दीर्घ’मा नीता र हरिहर एकसाथ देखिँदैछन् । फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्नेछन् ।