Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

फेरिएकी रेखा

फिल्मीखबर, काठमाडौं, 2022/07/10
अभिनेत्री रेखा थापा ४ वर्षदेखि फिल्ममा देखिएकी छैनन् । आफैंले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’को असफलतापछि उनी फिल्ममा फर्किन समय लगाइरहेकी छन् । एक समय सफलताबाहेक केही नदेखिएकी उनलाई पछिल्लो समय फिल्मबाट असफलताबाहेक केही मिलेको छैन । त्यसैले यतिबेला उनलाई आफ्नो करिअर उठाउन एउटा जबर्जस्त हिट फिल्मको खाँचो छ ।
 
रेखाले बाहिर ब्यानरको फिल्ममा काम गर्न लगभग छाडिसकेकी छन् । आफ्नै ब्यानरबाट फिल्म बनाउँदै आएकी उनले ‘मालिका’ पछि रेनशा वान्तवा राईलाई निर्देशकमा अनुबन्ध गर्दै नयाँ फिल्म बनाउन लागेको जानकारी गराएकी थिइन् । तर, रेनशासँग सम्झौता गर्नुबाहेक अरु केही उपलब्धि भएन । लकडाउनमा उनले नयाँ फिल्म निर्देशन गर्ने जिम्मेवारी सविर श्रेष्ठलाई सुम्पिइन् । 
 
rekha thapa
 
मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल फाइनल भएको जानकारी दिँदै रेखाले २०७७ सालको बैशाखबाट छायांकन सुरु गर्ने बताएकी थिइन् । तर, अहिले यो फिल्मको पनि अत्तोपत्तो छैन । बरु, गत फागुनमा रेखा वैवाहिक जीवनमा बाँधिइन् । अब उनी आगामी संसदीय निर्वाचनमा राप्रपाबाट कि प्रत्यक्षतर्फ चुनाव लड्ने वा समानुपातिक सांसद बन्ने दौडमा रहेको व्यापक चर्चा छ ।
 
कुनै समय फिट अभिनेत्रीको रुपमा चिनिएकी रेखाले फिल्म ‘हिम्मतवाली’पछि आफ्नो शरीर मेन्टेन गर्न नसकेको आलोचना हुँदै आएको थियो । उनी आफैं पनि यो कुरा स्वीकार गर्थिन् । तर, लकडाउनयता उनको शरीरको बनौट फेरिएको छ । कोरोना महामारीको समयमा अपार्टमेन्टमै घन्टौं व्यायम गरेकी उनले आफ्नो शरीरलाई ‘किस्मत’ गर्दा ताकाको समयमा फर्काएकी छन् ।
 
उनले शनिवार सोसल मिडियामा राखेको एक तस्विरले पनि उनको शरीरमा आएको परिवर्तन बयान गर्छ । काठमाडौंको पेटीमा उभिएको एक तस्विर उनले फेसुबकमा पोस्ट गरेकी छन्, जसमा रेखालाई जिरो फिगरमा देख्न सकिन्छ । तस्विरको कमेन्टमा धेरैले उनको स्लिम शरीर र सुन्दरताको प्रशंसा गरेका छन् । यो तस्विरले भन्छ, ‘अब रेखा नयाँ रेखा बनेर फिल्ममा उदाउँदैछिन् ।’