
कुनै समय अभिनेता निखिल उप्रेतीलाई ‘कृष्ण कन्हैया’ भनिन्थ्यो भन्ने कुरा नेपाली फिल्म क्षेत्रमा अझै पनि सुन्नमा पाइन्छ । फिल्मी करिअरको उचाईंमा रहँदा उनको नाम धेरै युवतीहरुसँग जोडियो । त्यसबेला निखिलको बोली सुनेपछि युवतीहरु उनको एकोहोरो प्रेममा डुब्ने गरेको बताइन्छ । उनको बोलीले भोजपुरी फिल्मकी एक अभिनेत्रीलाई समेत मोहनी लगायो । उनी हुन्, श्वेता तिवारी ।
नेपालीमा ‘त्रिनेत्र’ नाममा डब भएको भोजपुरी फिल्म ‘सबसे बडा रुपैयाँ’मा श्वेता र निखिलले सँगै काम गरेका थिए । यही फिल्ममा काम गर्ने क्रममा उनीहरु एकअर्कासँग नजिक भए । पछि यो जोडीले विवाह गर्न लागेको खबर समेत बाहिरियो । हालै एक टीभी अन्तर्वार्तामा निखिलले श्वेतासँगको घनिष्टता स्वीकार गर्दै श्वेताले आफूसँग विवाह गर्ने इच्छा देखाएको खुलासा समेत गरेका छन् ।
‘हामीबीच असल मित्रता थियो,’ निखिल भन्छन्, ‘मेरो विचारबाट श्वेता प्रभावित थियो । ऊ त्यसबेला केही चिजहरुबाट दुखी थियो । र, उसलाई मैले जीवनको जसरी परिभाषा गरेको थिएँ, त्यसबेला उसले भनेको थियो- ‘जीवनमा म कसैलाई मान्छु भने तलाईं मान्छु । तैले सानो शब्दमा मेरो लाइफको सोच्ने तरिका नै बदलिदिइस् ।’ आफ्नो कुराबाट श्वेता निकै प्रभावित भएको उनको भनाई छ ।
श्वेताले आफूबाट प्रेम प्रस्ताव सुन्न भारतबाटै दिनमा १० पटकभन्दा बढी फोन गर्ने गरेको निखिल सम्झन्छन् । उनी अगाडि भन्छन्, ‘विस्तारै घनिष्टता बढ्दै गएपछि उसले ‘सायद तिम्रो विवाह नभइदिएको भए...’ भन्ने कुरा गर्थ्यो । ‘तिमी मलाई मनपर्छ’ भन्ने कुरा उसले बारम्बार गर्थ्यो । केही वर्षयता हामीबीच कुराकानी र भेटघाट भएको छैन । कुराकानी नगर्ने सर्तमा नै हामी टाढिएका हौं ।’
श्वेता र निखिलले ‘सबसे बडा रुपैयाँ’पछि कहिल्यै एकसाथ काम गरेनन् । निखिलले भने त्यसपछि पनि केही भोजपुरी फिल्ममा काम गरे । ‘बिग बोस’ सिजन ४ को विजेता समेत रहेकी श्वेताको दुई विवाह भइसकेको छ । तर, दुवै विवाह टिक्न सकेन । चर्चित टीभी सिरियल ‘कसौटी जिन्दगी की’मा अभिनय गरेपछि चर्चामा आएकी उनले केही बलिउड फिल्ममा पनि अभिनय गरेकी छन् ।

