
आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाखे’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १० सेकेन्ड लम्बाईको टिजर सस्पेन्स थ्रिलरसँगै एक्सनले भरिएको छ । सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा र रोहित रुम्बालाई स्थान दिइएको टिजरले दर्शकको अपेक्षा र फिल्मको पखाई बढाउने देखिन्छ ।
सम्राट बस्नेत निर्देशित फिल्ममा सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको पनि अभिनय छ । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । टिजरमा फिल्मलाई नेपालकै सबैभन्दा ठूलो सस्पेन्स-थ्रिलर दाबी गरिएको छ ।
सिजन अर्यालको कथा रहेको फिल्मको पटकथा आकाश बरालले लेखेका हुन् भने संवादमा उनलाई अनुप न्यौपानले सघाएका छन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई ‘आरआर फिल्मस्’ले वितरण गर्दैछ ।

