.jpg)
रंगमञ्च र फिल्ममा स्थापित धेरै कलाकारका गुरु हुन्, अनुप बराल । कोही उनलाई अभिनय र निर्देशकीय कलाका आधारमा गुरु मान्छन् भने कतिलाई उनी आफैंले अभिनय सिकाएका छन् । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारहरु उनलाई गुरुको दर्जा दिन्छन् । अनुपबाट अभिनय सिकेपछि एउटा कलाकार अभिनयका लागि पूर्ण रुपमा तयार हुने बताइन्छ ।
उनै, अनुपले नाटकबाट फिल्ममा फड्को मारेका र फिल्मबाटै स्टार बनेका कलाकारहरुलाई अभिनयको आधारमा रेटिङ दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले विपिन कार्कीलाई सबैभन्दा बढी रेटिङ दिए । अनुपले विपिनलाई १० मा साढे ८ रेटिङ दिए भने दयाहाङ राई र सौगात मल्ललाई समान ८/८ रेटिङ दिएका छन् । उनले खगेन्द्र लामिछानेलाई भने साढे ७ रेटिङ दिए ।
अनुपले फिल्मका तीन स्टारहरु अनमोल केसी, प्रदीप खड्का र पुष्प खड्कालाई पनि अभिनयको आधारमा रेटिङ दिएका छन् । उनले प्रदीपलाई ६ रेटिङ दिँदा अनमोल र पुष्पलाई समान ५/५ रेटिङ दिए । केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रदीप खड्कामा आफूले राम्रो सम्भावना देखेको बताएका थिए । फिल्म ‘प्रकाश’का लागि उनले प्रदीपलाई वर्कसप गराएका थिए ।
अनुपले अभिनेत्रीहरुलाई पनि अभिनयको आधारमा रेटिङ दिएका छन् । उनले दीया मास्के, स्वस्तिमा खड्का र ऋचा शर्मालाई १० मा समान ८/८ रेटिङ दिएका छन् भने उपासना सिंह ठकुरीलाई ६ रेटिङ दिए । अनुप निर्देशित नयाँ फिल्म ‘दोख’ शुक्रवारबाट प्रदर्शनमा आएको छ भने उनले अभिनय गरेको फिल्म ‘पानीफोटो’ आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

