.jpg)
२०७२ को भूकम्पताका छायांकन भएको फिल्म ‘दोख’ निर्माणको ७ वर्षपछि शुक्रवारबाट प्रदर्शनमा आएको छ । खर्च अभावले प्रदर्शनमा ढिलाई भएको फिल्मले माओवादी-सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्धालाई लिएर दुई गाउँबीच उत्पन्न किचलोको कथालाई प्रस्तुत गरिएको छ । रंगमञ्चमा ठूलो नाम बनाएका अनुप बरालले निर्देशन गरेका कारण यो फिल्मप्रति अपेक्षा उच्च छ ।
‘दोख’ले सिंगल थिएटर पर्याप्त मात्रामा पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ । तर, मल्टीप्लेक्समा यो फिल्मलाई हलिउड फिल्म ‘थोर’ ठूलो चुनौती बन्ने देखिन्छ । अभिनेता क्रिस हेम्सवर्थ स्टारर फिल्मको मल्टीप्लेक्सहरुमा उच्च शोजसहित आक्रामक रुपमा टिकट बुकिङ भइरहेको छ । यो अवस्थामा ‘दोख’को भविष्य माउथ पब्लिसिटीमा निर्भर रहनेछ ।
एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठेतद्वारा लिखित कथामा फिल्म बनेको हो । यस फिल्ममा दीया मास्के, लोकमणि सापकोटा, मनिष निरौला, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् ।
सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साइन्ड डिजाइन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ । २०१४ मा आएको फिल्म ‘फिटकिरी’पछि अनुप बरालले ‘दोख’बाट निर्देशनमा कमब्याक गरेका हुन् ।

