Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेरो कथा, मेरो सिनेमा’ प्रतिस्पर्धाको निर्णायकमा सुनिल, दीपेन्द्र र पूजा

फिल्मीखबर, काठमाडौं, 2022/07/07
प्रशारणको तयारीमा रहेको एनएनटिभी (नेपाल नेटवर्क टेलिभिजन) ले लघु फिल्म प्रतिस्पर्धाको घोषणा गरेको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ नामक प्रतिस्पर्धाको घोषणा गर्दै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) सहित आवेदन आह्वान गरिएको छ । स्क्रिप्ट छनौट भइसकेपछि टेलिभिजनले निर्माण अनुमति प्रदान गर्ने एनएनटिभीका सिइओ दिनेश डिसीले जानकारी दिए । 
 
nntv - sunil thapa, dipendra k khanal and pooja sharma
 
डिसीले लघु फिल्ममार्फत् आम दर्शकलाई मनोरञ्जनका साथै नयाँ फिल्मकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले लघु फिल्म प्रतिस्पर्धाको आयोजना गरिएको बताए । यो प्रतिस्पर्धामा सहभागी हुने चाहनेले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) अनलाइन www.nntvshorts.com वा टेलिभिजनको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । स्क्रिप्ट छनौट भइसकेपछि टेलिभिजनले निर्माण अनुमति प्रदान गर्ने र त्यसपछि प्रतिस्पर्धामा भाग लिन पाउने दिनेश डिसीले स्पष्ट पारे । 
 
‘मेरो कथा, मेरो सिनेमा’ प्रतिस्पर्धाको निर्णायकहरुमा ‘राते काइला’को रुपमा परिचित कलाकार सुनिल थापा, निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री पूजा शर्मा रहेका छन् । टेलिभिजनले आगामी साउन २० गतेसम्म स्क्रिप्ट दर्ता गर्नुपर्ने समयसीमा तोकेको छ । स्क्रिप्ट छनौट साउन २५ गते हुने, फिल्म निर्माण सम्पन्न भदौ २५ गतेसम्म हुनुपर्ने र फिल्मको मुल्यांकन भदौ २६ गते हुने टेलिभिजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्क्रिप्ट छनौट भएर निर्माण अनुमति पाएपछि फिल्मको लम्बाई १२ मिनेटदेखि २४ मिनेटसम्म हुनुपर्नेछ ।
 
असोज १ गतेबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने प्रतिस्पर्धाको विजेता घोषणा कात्तिक १ गते पत्रकार सम्मेलनमार्फत् गरिने दिनेश डिसीले जानकारी दिए । प्रतिस्पर्धामा प्रथम पुरस्कार प्रमाणपत्र र ट्रफीसहित २ लाख, द्वितीय पुरस्कार प्रमाणपत्र र ट्रफीसहित डेढ लाख र तृतीय पुरस्कार प्रमाणपत्र र ट्रफीसहित ५० हजार रहेको छ भने उत्कृष्ट दशलाई प्रमाणपत्र र ट्रफीसहित १० हजार प्रदान गरिनेछ । 
 
nntv
 
उत्कृष्ट पाँच लघु फिल्मलाई डीएआर मुभिजबाट निर्माण हुने फिल्महरु तथा टेलिभिजनले निर्माण गर्ने टेलिफिल्महरुमा प्राथमिकताको आधारमा काम गर्न अवसर दिइने जनाइएको छ । नेपाल नेटवर्क टेलिभिजनको अहिले टेस्ट ट्रान्समिसन भइरहेको छ । आगामी असोज १ गतेबाट टेलिभिजनको औपचारिक प्रशारण सुरु हुनेछ । २० करोडमाथिको लगानीमा यो टेलिभिजन खुल्न लागेको हो ।