Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’को रेकर्ड तोडेको ‘कबड्डी ४’ ५१औं दिने बाटोमा

फिल्मीखबर, काठमाडौं, 2022/07/07
kabaddi 4
 
गत जेठ १३ गतेभन्दा अगाडि नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा थियो । निर्माता तथा कलाकार दीपकराज गिरीको दाबीलाई विश्वास गर्ने हो भने यो फिल्मले घरेलु बजारमा २० करोड कमाएको थियो । यो रेकर्ड दीपककै समुहले निर्माता रोहित अधिकारीसँग मिलेर बनाएको फिल्म ‘छ माया छपक्कै’ले समेत तोड्न सकेको थिएन । २० करोडको रेकर्ड तोड्नु तत्कालका लागि असम्भव नै मानिएको थियो ।
 
तर, जेठ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले ‘छक्का पञ्जा ३’को लाइफटाइम कलेक्सन रेकर्ड १६ दिनमै भत्कायो । अब ‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने पहिलो नेपाली फिल्म बनेको छ । समीक्षकबाट मिलेको आलोचनात्मक समीक्षाका बावजूद पनि लामो रेसको घोडा बनेको यो फिल्मले ५१औं दिने सफलताको मानक पनि छुने देखिएको छ । बिहीवार ४०औं दिनमा प्रदर्शन भइरहेको फिल्मलाई ५१औं दिन मनाउन अब हलमा ११ दिन टिक्नुपर्नेछ ।
 
आधा दर्जन बढी सिंगल थिएटर र क्यूएफएक्स, वान सिनेमाज्, बिग मुभिज, रञ्जना सिनेप्लेक्स लगायतका मल्टीप्लेक्सहरुमा अझै पनि राम्रो शोजसहित फिल्म प्रदर्शन भइरहेको छ । जेठपछि ठूला नेपाली फिल्म प्रदर्शन नहुनु र रिलिज भएका नेपाली तथा विदेशी फिल्मले दर्शक रिझाउन नसक्दा हलमा टिकिराख्न ‘कबड्डी’ ४’लाई सजिलो भएको हो । अझै केही हप्ता ठूला नेपाली फिल्म नभएकाले फिल्मले ५१औं दिन मनाउने निश्चित छ । फिल्मले ४० दिनसम्म कति कमायो, त्यसको आँकडा भने सार्वजनिक भएको छैन । 
 
‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले पनि फिल्मको व्यापारमा ठूलो उछाल आएको हो । यसका अघिल्ला तीनवटै सिरिज बक्सअफिसमा सफल थिए । यतिबेला विदेशमा पनि ‘कबड्डी ४’ले हाउसफुल व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतको अभिनय छ । अब निर्देशक गुरुङ ‘कबड्डी’को बमकाजी चरित्र (सौगात मल्ल) माथि फिल्म ‘मास्टर बमकाजी’ बनाउँदैछन् ।