रंगमञ्चका गुरु मानिने अनुप बरालले फिल्म ‘फिटकिरी’बाट निर्देशकीय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले फिल्म ‘दोख’ बनाए । करीब ७ वर्ष अगाडि नै निर्माण भएको यो फिल्म भोली शुक्रवार (असार २४) बाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा निर्देशक बरालले माओवादी जनयुद्धको पृष्ठभूमिमा वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोको कथा प्रस्तुत गरेका छन् । एक स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम भएको स्क्रिप्टमाथि उनले फिल्म बनाएका हुन् ।
अनुप बरालले निर्देशन र अभिनय गरेका फिल्म हुन् वा नाटक, त्यसप्रति अपेक्षा उच्च हुने गर्छ । ‘दोख’लाई लिएर पनि अपेक्षा ठूलो छ । उनलाई न गल्ती गर्न छुट छ न औसत हुन अनुमति । निर्देशक बराल पनि आफूले गरेका कामप्रति अपेक्षा ठूलो हुने गरेको कुरा स्वीकार गर्छन् । त्यसैले आफूलाई छोएको कन्टेन्टले अरुलाई पनि छुन सक्छ भन्ने विश्वासमा काम गर्ने गरेको उनको भनाई छ । पहिलो फिल्म ‘फिटकिरी’भन्दा आफूले ‘दोख’ राम्रो बनाएको पनि उनी दाबी गर्छन् ।

एक भेटमा उनले भने- ‘ममाथिको अपेक्षा पूरा गर्न सक्छु वा सक्दिनँ थाहा छैन । तर, यदी मलाई कन्टेन्टले छोयो भने म जस्तै अरु १० जनालाई पनि छुन सक्छ भन्ने लाग्छ । व्यक्तिगत ग्रोथको हिसाबले हेर्ने हो भने मैले पहिलो फिल्म ‘फिटकिरी’भन्दा ‘दोख’ केही राम्रो बनाएको छु । अनि, फिल्म बनेपछि निर्देशकले आफूलाई मार्दिनु पर्छ भन्ने लाग्छ । फिल्मको बारेमा धेरै बोल्नुभन्दा दर्शकले हेर्न जाँदा त्यो कुरा पाउनुभयो भने उपलब्धि त्यही हो ।’
युद्धको उद्देश्यमा ‘दोख’ नबनाएको स्पष्ट पार्दै निर्देशक बरालले युद्धको बाछिट्टा, चरित्र, मनोविज्ञान र मनोदशालाई फिल्ममा प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन् । ‘जति बेला हामीले ‘दोख’ बनाएका थियौं, त्यसबेला द्वन्द्व ताजताजै थियो । त्यसैले पनि त्यो समयमा द्वन्द्वको कथा भन्दा प्रभावकारी हुन्छ भन्ने लाग्यो । अनि, अझै युद्धले छोडेका घाउहरु फिल्ममार्फत् बाहिर आएका छैनन् जस्तो मलाई महशुस भयो,’ उनले अगाडि भने, ‘हामीले युद्धको उद्देश्य के थियो भन्नका लागि फिल्म बनाएका होइनौं । एउटा समाजमा युद्धले विभिन्न किसिमको प्रभाव पारेको हुन्छ, त्यो मनोविज्ञानलाई देखाउने प्रयास गरेका छौं ।’
प्रतिशोधबाट अगाडि बढ्यो भने कहिँ पुगिँदैन भन्ने आधारलाई फिल्मले टेकेको अनुप प्रस्ट्याउँछन् । फिल्मले जनयुद्धको सबै पाटोलाई नदेखाएको र त्यो सम्भव पनि नहुने उनको बुझाई छ । उनले फिल्मको कथासार प्रस्ट्याउँदै भने- ‘फिल्ममा द्वन्द्वको समयमा मानिसले भोगेका मनोदशालाई देखाउन खोजेका छौं । प्रतिशोधबाट अगाडि बढ्यो भने कहिँ पुगिँदैन भन्नेमा फिल्म अडिएको छ । समाजमा मानिस कसरी कठोर हुँदै गइरहेको छ भन्ने कुरा फिल्मले देखाउँछ ।’
राजन कठेतले लेखेको कथामा निर्माण भएको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् । भोजपुर क्षेत्रमा छायांकन भएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डि. कार्कीले छायांकन छ ।

