.jpg)
निर्माताको पीडा बुझ्न एकपटक भए पनि कलाकारले फिल्म निर्माण गर्नुपर्छ भन्ने गरिन्छ । फिल्ममा अभिनय गरेपछि आफ्नो सबै दायित्व सकिएको ठान्ने एकाध कलाकारका कारण कयैन् निर्माता रुँदै हिँड्नु परेको छ । एउटा निर्माताले बैंकबाट ऋण लिएर होस् वा जीवनभर कमाएको पैसाले फिल्म बनाएको हुन्छ । तर, केही कलाकारले पारश्रमिक पाएपछि निर्माताको समस्या र पीडा नै विर्सन्छन् ।
पछिल्लो समय कलाकारहरु पनि फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ । भुवन केसी, करिश्मा मानन्धर, रेखा थापा, निखिल उप्रेती, विराज भट्ट, रमेश उप्रेती, निशा अधिकारी, पूजा शर्मा लगायतका कलाकारहरु निर्माता भइरहेको अवस्थामा अभिनेता सौगात मल्लले पनि फिल्म ‘दि सिक्रेट अफ राधा’बाट निर्माणमा हात हालेका छन् । यो फिल्म आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन तयारीमा छ ।
अरु निर्माताको फिल्म हातमा परेपछि सौगात हत्तपत्त उम्काउँदैनन् । वर्षमै आधा दर्जनभन्दा बढी फिल्ममा काम गर्न भ्याउने उनले प्रचारमा पनि खासै समय दिन सक्दैनन् । तर, आफैं निर्माता भएपछि उनले ‘राधा’का लागि तीन महिना अभिनयबाट ब्रेक नै लिएका छन् । अब उनी यो फिल्म प्रदर्शनमा नआएससम्म न कुनै फिल्मको छायांकनमा व्यस्त हुनेछन् न कुनै नयाँ फिल्म साइन गर्नेछन् ।
बुधवार पशुपति क्षेत्रमा ‘राधा’को तिज गीतको छायांकन भइरहँदा सौगात पनि पुगेका थिए । गीतमा उनको सिन थिएन तर, उनी निर्माताको रुपमा उपस्थित थिए । उनी केही प्रेसरमा देखिन्थे । सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले निर्माता भएपछि प्रेसर हुनु सामान्य रहेको बताए । उनले भने, ‘कलाकार र निर्माता हुनुमा फरक हुन्छ नै । निर्माताको रुपमा मलाई यो सिक्ने मौका पनि हो । प्रेसर र दौडधुप त हुन्छ नै ।’
‘दि सिक्रेट अफ राधा’ले उठाएको कथामा फिल्म बन्नुपर्छ भन्ने लागेर लगानी गरेको सौगातको भनाई छ । उनी अगाडि भन्छन्, ‘नेपालमा यस्तो फिल्म पनि बन्नुपर्छ भन्ने मलाई लाग्छ । यस्तो कथावस्तुमा लगानी गर्ने मान्छेहरु त्यत्ति हुँदैनन् अनि यस्तो फिल्म पनि बन्नुपर्छ भन्ने भएर लगानी गरेको हुँ ।’ फिल्मको कथामा सबैले रिलेट गर्न सक्ने र समाजमै देखिरहेको कथामा फिल्म बनेको उनी बताउँछन् ।

