प्रख्यात रंगकर्मी अनुप बरालकी श्रीमती दीया मास्के (बराल) पनि एक उम्दा कलाकार हुन् । रंगमञ्च पृष्ठभूमिबाट फिल्ममा आएकी उनले ‘सुनगाभा’, ‘साँघुरो’, ‘फिटकिरी’ जस्ता फिल्ममा यादगार चरित्र निर्वाह गरेकी छन् । अब उनी अभिनीत नयाँ फिल्म ‘दोख’ यही शुक्रवार (२४ गते) बाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्ममा निर्वाह गरेको चरित्रबाट मास्के सन्तुष्ट देखिएकी छन् ।
करिअरको सुरुवातदेखि दीयाले गम्भीर प्रकारको चरित्रमा मात्र अभिनय गर्दै आएकी छन् । तर, उनी आफूलाई डाँडाकाँडामा नाच्ने भूमिकामा पनि अभिनय गर्न मन लाग्ने बताउँछन् । उनी भन्छिन्, ‘मलाई हरेक प्रकारको चरित्रमा अभिनय गर्न मन लाग्छ । मैले आफ्नो करिअरमा जस्तो-जस्तो काम पाएँ, त्यस्तै गर्दै आएँ । मैले डाँडाकाँडामा गएर नाच्ने खालको फिल्म चाहिँ नपाएको नै हो ।’
आफूलाई गम्भीर खालका चरित्रबाट प्रस्ताव आउनुलाई दीया सुरुवाती समयमा गरेको फिल्मको प्रभाव मान्छिन् । ‘म डान्सर हो । डाँडाकाँडामा नाच्न मन पर्छ । तर, त्यो अर्थपूर्ण हुनुपर्छ । मलाई कमेडी फिल्म गर्न एकदमै मन छ । कति निर्देशकहरुलाई कमेडी फिल्ममा लिन आग्रह पनि गर्छु । तर, कसैले सिरियस्ली लिँदैन । पहिला गरेको फिल्मको प्रभावले पनि होला कि,’ उनले भनिन् ।
अहिले चरित्रमा आधारित फिल्महरु लहरै आइरहनुलाई उनी कलाकार बन्न चाहनेका लागि अत्यन्त सुन्दर समय मान्छिन् । दीया भन्छिन्, ‘कलाकार भएपछि अभिनयमा विविधता दिन सबैलाई मन लाग्छ । कुनै पनि अभिनेत्रीलाई फिल्ममा ‘शो-पिस’ जस्तो भएर उभिन मन लाग्दैन । तर, अहिलेको जुन लहर आएको छ, त्यो हेर्दा अब कलाकार बन्ने सुन्दर समय आएको महशुस भएको छ ।’
‘शो-पिस’ हुन नचाहेर कति फिल्ममा अभिनय नगरेको बताउने उनी ‘दोख’ र ‘प्रकाश’मा पाएको चरित्रले आत्मविश्वास र हौसला बढाएको बताउँछन् । केही नाटकको निर्देशन गरिसकेकी उनी अहिले नै फिल्म निर्देशन गर्ने सोचमा छैनन् । तर, फिल्म निर्देशन गरे अनुप बरालको शैली पछ्याउन नचाहने बताउँदै उनी भन्छिन्, ‘शुत्रबद्ध फिल्म नबनाए पनि म रमाइलो फिल्म भने बनाउँछु ।’

