
करीब ९ वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल अब विवाह बन्धनमा बाँधिने भएका छन् । विगत केही वर्षयता अमेरिकामा एकसाथ बस्दै आएका उनीहरु आगामी मंसिर १६ गते विवाह बन्धनमा बाँधिन लागेको जानकारी प्राप्त भएको छ । यो जोडीको विवाहको ‘भेन्यू’ काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी रोजिएको छ ।
संयम र आश्मा विवाहका लागि दशैं आसपासमा नेपाल आउने तयारीमा छिन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । यो जोडीले एकसाथ केही फिल्ममा समेत काम गरेको छ । पहिलो पटक उनीहरुले फिल्म ‘आभाष’मा काम गरेका थिए । यही फिल्ममा काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुराएको बताइन्छ ।
‘आभाष’पछि संयम र आश्माले फिल्म नाइँ नभन्नु ल ३’मा पनि अभिनय गरेका थिए । फिल्म ‘सायद’बाट अभिनेताको रुपमा डेब्यू गरेका संयमले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतका फिल्ममा अभिनय गरेका छन् । अभिनयमा अब्बल मानिने उनी अचानक अमेरिका हानिएका थिए । आश्मा डिसीले अमेरिका जानु अगाडि फिल्म ‘रामप्यारी’मा काम गरेकी थिइन् ।

