
एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशन गरेको नयाँ फिल्म ‘झिंगेदाउ’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीतमा मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ भने शान्तिश्री परियार र प्रविन बेडवालको युगल स्वर सुन्न सकिन्छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका चार प्रमुख कलाकारहरु केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट नृत्य गर्दै देखिएका छन् । गीतको अडियो सशक्त छ । तर, अडियोअनुसार लोकेशन र कोरियोग्राफीमा भिडियो चुकेको भान हुन्छ । गीतको भिडियोमा ठूलो संख्यामा कोरस डान्सर प्रयोग गरिएपनि त्यसको आवश्यकता महशुस हुन्न ।
हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्म कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा बनेको हो । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित भएर बनेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा केकी र आँचलले जेठानी-देवरानीको भूमिकामा अभिनय गरेका छन् । उनीहरुले पहिलो पटक एकसाथ फिल्ममा काम गरेका हुन् । निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए ।

