Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.45/5.00)
Text size:-
+
-

अनमोलको पाइपलाइनमा ७ वटा फिल्म

मनिष अन्जान, काठमाडौं, 2022/07/05
यतिबेला अभिनेता अनमोल केसी करिअरको त्यो विन्दूमा छन्, जहाँ पुग्छु भन्ने उनी आफैंले कल्पना गरेका थिएनन् होला । पहिलो फिल्मबाट लागेको ‘लक’ उनलाई छाड्ने पक्षमा छैन । फिल्म ‘होस्टेल’ बाट सफलताको चप्पल पड्काउन सुरु गरेका उनलाई ‘कृ’ र ‘क्याप्टेन’ बाहेक अरु फिल्मबाट निराशा भोग्नु परेन । नयाँ छिमलका कलाकारमा सबैभन्दा सफल फिल्म दिने नायक हुन् उनी ।
 
कुनै समय उनका पिता भुवन केसीको अनुहार पोस्टरमा राखेको भरमा फिल्म बिक्थ्यो । अहिले त्यो क्रेज अनमोलले बनाएका छन् । फिल्ममा उनी भित्रिएपछि नै निर्माताले पैसा छाप्न सुरु गर्छन् । वितरकले एमजी दिनेदेखि डिजिटल र ओभरसिज राइट्स फिल्म बन्नुभन्दा अगावै विक्री हुन्छ । त्यो अनमोलमाथिको विश्वास हो । युवापुस्ताको ठूलो जमातलाई उनको अनुहारले नै हलसम्म तान्छ ।
 
अभिनयमा कच्चा मानिने उनी स्टारडममा पक्का छन् । मेकरलाई के विश्वास छ भने अनमोल भएपछि फिल्म फ्लप नै भएपनि घरखेत डुब्दैन । उनको नामले नै फिल्ममाथि भएको लगानीको ठूलो हिस्सा उठाउन सक्छ । त्यसैले त उनको मागसँगै पारिश्रमिक पनि अनमोल बन्दैछ । अहिले उनी ५० लाख घटीमा फिल्म गर्दैनन् । र, निर्मातालाई पनि उनको पारिश्रमिकमा कुनै आपत्ति छैन । 
 
anmol kc
 
वर्षमा एक वा दुईवटा फिल्ममा झुल्किने अनमोलको यस वर्षको सुरुवातमा फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन भयो । साउथको ठूलो फिल्म ‘केजीएफ २’को हालीमुहालीबीच पनि फिल्मले लगानी उठाउन सफल भयो । यस लगत्तै अनमोलले फिल्म ‘हनी बनी’ साइन गरे र महिना दिनमै छाडे पनि । त्यसपछि एक महिना चुपचाप देखिएका उनले यतिबेला भकाभक फिल्म साइन गरिरहेका छन् । 
 
गत जेठ अन्तिममा उनले फिल्म ‘छड्के २’मा काम गर्ने सम्झौता गरे । त्यसको दुई हप्तापछि अर्थात् गत शुक्रवार सुदर्शन थापाको निर्देशन र पूजा शर्माको निर्माणमा बन्ने एक बेनामे फिल्म पनि उनले साइन गरे । सोमबार उनले आफ्नै हिट फिल्म ‘जेरी’को दोस्रो श्रृंखला ‘जेरी २’मा पनि काम गर्ने सम्झौता गरेका छन् । उनी लगातार फिल्म साइन गर्नुको कारण कथावस्तु र टिमलाई मान्छन् । 
 
यी तीन फिल्म साइन गरेसँगै अनमोलको पाइपलाइनमा फिल्मै फिल्म भएको छ । उनको घरभित्रकै तीनवटा फिल्म (पारस, एन्टी हिरो र माइतीघर २) रोकिएर बसेका छन् भने गत वर्ष उनले फिल्म ‘एक्स ९’ पनि साइन गरेका थिए । यो फिल्मका लागि उनले केही महिना जिममा वर्कआउट पनि गरे । तर, अन्तिममा फिल्म बनेन । अब फेरि ‘एक्स ९’ बनाउन निर्माण टिम कस्सिएको छ ।
 
यसरी हेर्दा, अहिले अनमोलको पाइपलाइनमा घरभित्र र बाहिरी ब्यानरको गरी ७ वटा फिल्म छन् । घरको फिल्म त उनले वर्षौं धकेल्लान् तर बाहिरी ब्यानरका चार फिल्मको लागि समय छुट्याउन उनलाई सहज पक्कै हुने छैन । त्यसमाथि रिलिज जुध्ने तनाव उत्तिकै रहनेछ । हुनत, फिल्म छाड्न सिपालु मानिने उनी अन्तिमसम्म यी सबै फिल्मसँग जोडिएर बस्छन् भन्ने ग्यारेन्टी पनि छैन ।