Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(27 votes, avg 4.78/5.00)
Text size:-
+
-

भकाभक फिल्म साइन गर्दै अनमोल, ‘जेरी २’मा पनि अनुबन्धित

फिल्मीखबर, काठमाडौं, 2022/07/04
anmol kc
 
गत बैशाखमा फिल्म ‘हनी बनी’ छाडेपछि एक महिना मौन देखिएका अभिनेता अनमोल केसीले यतिबेला भकाभक फिल्म साइन गरिरहेका छन् । दुई साताअघि ‘छड्के २’ र गत शुक्रवार सुदर्शन थापाले निर्देशन गर्ने एक अनटाइटल प्रोजेक्ट साइन गरेका उनी सोमवार अर्को फिल्ममा अनुबन्ध भएका छन् । आफू अभिनीत सुपरहिट फिल्म ‘जेरी’को सिक्वेलमा उनी अनुबन्धित भएका हुन् ।
 
काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानी रहनेछ भने ‘जेरी’कै निर्देशक हेमराज विसीले निर्देशन गर्नेछन् । अनमोलले ‘छड्के २’ र सुदर्शनको फिल्मको छायांकन पूरा गरेपछि ‘जेरी २’ निर्माण हुने जानकारी प्राप्त छ । यो फिल्मका लागि अनमोलले आकर्षक पारिश्रमिक बुझेका छन् । 
 
लभस्टोरी जनरामा निर्माण हुने फिल्मको स्क्रिप्ट हेमराजकै हो । फिल्म ‘होस्टेल’बाट हेमराजले निर्देशन र अनमोलले अभिनेताको रुपमा डेब्यू गरेका थिए । पहिलो सहकार्य नै फलिफाप भएपछि उनीहरुबीच ‘जेरी’ र ‘गाजलु’मा पनि सहकार्य भयो । यसपछि भने हेमराजले अफर गरेका फिल्महरु अनमोलले नकार्दै आएका थिए । अन्ततः एकपटक फेरि हिट जोडीको जुगलबन्दी भएको छ । 
 
‘जेरी’मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन् । दोस्रो श्रृंखलामा पनि उनी रहने सम्भावना प्रवल छ । निर्माण टिमले केही चरण आनासँग कुराकानी गरिसकेको जानकारी प्राप्त छ । नेपाल, अमेरिका र अस्ट्रेलियामा छायांकन हुने फिल्मलाई २०८० सालको विजयादशमी (दशैं) मा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । ‘जेरी’ २०१४ मा प्रदर्शन भएको थियो ।