Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

सन्तोष क्रिस्टिनालाई ‘गीत’ मान्ने, पूजा अरुलाई नमान्ने !

फिल्मीखबर, काठमाडौं, 2022/07/04
pooja sharma and santos sen
 
सन् २०१६ मा आएको फिल्म ‘प्रेमगीत’ले तीन जनाको जीवन बदल्यो । ‘चंखे शंखे पंखे’ निर्माण गरेर डुबेका निर्माता सन्तोष सेन, आफैंले लगानी गरेर फिल्म ‘स्केप’बाट हिरो भएका प्रदीप खड्का र ‘मधुमास’, ‘अझै पनि’ जस्ता फिल्ममा काम गरेर पनि नचलेकी पूजा शर्मालाई ‘प्रेमगीत’ले नयाँ जीवन दिएको थियो । यही फिल्मका कारण आज तीनैजनाको फिल्म क्षेत्रमा ठूलो नेम र फ्रेम छ ।
 
निर्माता सन्तोष सेनले ‘प्रेमगीत’ नाममा तेस्रो सिरिजसम्म बनाइसकेका छन् भने प्रदीप र पूजा स्टार भइसकेका छन् । यो फिल्मले प्रदीपलाई ‘प्रेम’ र पूजालाई ‘गीत’को रुपमा चिनायो । ‘प्रेमगीत २’मा अश्लेषा ठकुरी ‘गीत’ बने पनि दर्शकले स्वीकार गरेनन् । तेस्रो सिरिजमा क्रिस्टिना गुरुङ ‘गीत’ बनेकी छन् । अब उनलाई दर्शकले ‘गीत’को रुपमा स्वीकार गर्छन् वा गर्दैनन्, त्यो हेर्न बाँकी छ ।
 
‘प्रेमगीत ३’ रिलिजको पखाईमा तीन वर्ष कटाएकी क्रिस्टिनाको धैर्यताको प्रशंसा गर्दै केही दिनअघि सन्तोषले फेसबुकमा लेखेका थिए, ‘आज गर्वसाथ भन्न सक्छु खास प्रेमको गीत तिमी हौ ।’ यसबाट उनी पूजा र अश्लेषालाई ‘गीत’ मान्न तयार नभएको स्पष्ट बुझिन्छ । दुवै अभिनेत्रीसँग पानी बाराबारको सम्बन्ध रहेकाले निर्माता सन्तोषले ‘गीत’को क्रेडिट क्रिस्टिनालाई दिनु सामान्य नै हो ।
 
सेनले आफूलाई ‘गीत’ मान्न तयार नभएपछि पूजाले पनि जवाफ फर्काउन छाडिनन् । हालै एक कार्यक्रममा उनले आफूलाई सारा दर्शकको ‘गीत’ बताउँदै भनिन्, ‘सन्तोष सेनजीको लागि क्रिस्टिना ‘गीत’ भनेपछि म सारा दर्शकको लागि ‘गीत’ हो ।’ हुन पनि, ‘प्रेमगीत’ हेरेका दर्शकले पूजालाई नै ‘गीत’ मान्छन् । जे होस्, पूजा शर्मा र सन्तोष सेनबीच बेला बखतमा घोचपेच रामै हुने गर्छ ।