Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिन विशेष : स्वस्तिमा खड्काको करिअर कति सफल ?

फिल्मीखबर, काठमाडौं, 2022/07/04
फिल्म ‘होस्टेल रिर्टन्स’बाट सहायक चरित्रमा उदाएकी अभिनेत्री हुन्, स्वस्तिमा खड्का । यो फिल्म बक्सअफिसमा राम्रै चले पनि स्वस्तिमाको करिअरले फड्को मारेन । बरु, डेब्यू फिल्म रिलिज लगत्तै निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनी चर्चामा आइन् । विवाहपछि उनको भाग्य बलेको हो भन्दा फरक पर्दैन । किनकि, बिहेपछि नै उनले फिल्ममा आफ्नो पहिचान बनाएकी हुन् ।
 
विवाहको केही समयपछि उनले दीपेन्द्र के. खनालको निर्देशनमा फिल्म ‘लभ लभ लभ’मा काम गरिन् । यसमा उनको अभिनयको चर्चा भएपनि फिल्म चलेन । तर, जब उनले श्रीमान् निश्चल बस्नेतले अभिनय गरेको फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ गीतमा ठुम्का लगाइन्, त्यसपछि उनी चर्चाबाट टाढा हुनु परेको छैन । गुमनाम झैं रहेकी उनलाई यही गीतले दर्शकमाझ चिनाएको हो । 
 
swastima khadka
 
‘कुटुमा कुटु’को लोकप्रियतापछि उनले दीपकराज गिरी र दीपाश्री निरौलाको हिट फिल्म ‘छक्का पञ्जा’को दोस्रो सिरिजमा काम गर्ने मौका पाइन् । फिल्म बक्सअफिसमा सफल हुँदा उनको करिअरलाई पनि राहत मिल्यो । यसपछि उनले मुख्य भूमिकामा अभिनय गरेको अर्को सुपरहिट फिल्म ‘नाईं नभन्नू ल ५’ हो । तर, त्यसयता उनलाई फिल्मको सफलता आकाशको फल झैं बनिरहेको छ ।
 
गएको चार वर्षमा स्वस्तिमाले ‘हजार जुनीसम्म’, ‘घामड शेरे’, ‘बुलबुल’, ‘चपली हाइट ३’ र ‘चिसो मान्छे’ फिल्ममा अभिनय गरिन् । त्यसमध्ये सबै फिल्म असफल भए । यद्यपि, ‘बुलबुल’ नचलेपनि यसले स्वस्तिमाको करिअरलाई पूर्नजीवन दियो । फिल्ममा उनको उम्दा अभिनयले अनगिन्ती अवार्ड जितेको थियो । हाल प्रदर्शनरत ‘चिसो मान्छे’मा पनि उनको अभिनयको प्रशंसा भइरहेको छ ।
 
समग्रमा हेर्दा कलाकारको रुपमा स्वस्तिमाको करिअर सुखद् नै मान्न सकिन्छ । एउटा कलाकार अभिनयले बाँच्ने भएकाले उनको अभिनयमा देखिएको परिपक्वता उनी लामो रेसको घोडा बन्ने प्रमाण हो । तर, करिअर बचाउन हिट फिल्मको पनि खाँचो पर्छ । स्वस्तिमालाई भने हिट फिल्मका सिरिजबाहेक न अरु फिल्मले सफलताको सुःख दिएका छन् न उनको नामले फिल्म चलेको छ । 
 
उनै, स्वस्तिमाले सोमवार जन्मदिन मनाइरहेकी छन् । सन् १९९५, जुलाई ४ मा जन्मिएकी उनी २७ वर्षमा लागेकी छन् । उनलाई जन्मदिनको शुभकामना दिँदै निश्चलले इन्स्टामा स्वस्तिमा जन्मिएको दिन आफू ८ कक्षामा पढिरहेको उल्लेख गरेका छन् । निश्चलले मध्यराती दिएको सरप्राइज केक काटेर जन्मदिनको सुरुवात गरेकी स्वस्तिमा सोमवार दिनभरी केक काट्नमै व्यस्त रहनेछिन् ।