.jpg)
‘लभ बर्डस्’ नीता ढुंगाना र हरिहर अधिकारीले करीब ३ वर्ष लामो प्रेम सम्बन्धलाई यही असार २४ गते विवाहमा परिणत गर्दैछन् । यतिबेला उनीहरु विवाहको तयारीमा जुटेका छन् । यसैबीच, यो जोडीले विवाहभन्दा अगाडि फिल्म ‘ह्रस्व दीर्घ’को शुभसाइत गरेको छ । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको फिल्मको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो ।
ज्योतिष समेत रहेका हरिहर अधिकारीले निकालेको शुभ साइतमा स्कृप्ट र क्ल्याप बोर्ड पूजा गर्दै फिल्मको ‘टाइटल फन्ट’ समेत सार्वजनिक गरिएको छ । सार्वजनिक टाइटल फन्टले फिल्म एक्सन प्रधान हुने बुझाउँछ । त्यसो त, साउथका भिलेनहरुको प्रवेश र द्वन्द्व निर्देशनमा आफूलाई स्थापित गरेका चन्द्र पन्तले क्याप्टेनसिप सम्हाल्ने भएकाले फिल्म एक्सन जनरामा बन्ने निश्चित नै थियो ।
आगामी दशैंपछि छायांकन सुरु हुने फिल्ममा ‘पुष्पा’ भिलेन सुनिल वर्मा (सिनुभाई), ‘गजनी’ भिलेन प्रदीपराज रावत, विश्व प्रख्यात कलाकार ब्रह्मानन्दम र अली अनुबन्ध भइसकेका छन् । त्यस्तै, नेपालबाट नीता र हरिहरसँगै सरोज खनाल र सलोन बस्नेतको पनि फिल्ममा अभिनयमा रहनेछ । फिल्ममा बलिउडको एक चर्चित अभिनेत्रीलाई समेत अनुबन्ध गराउने तयारीमा निर्माण टिम छ ।

बलिउड सिनेमेटोग्राफर कबीरलालले खिच्ने फिल्मको स्कृप्ट प्रतीक पौडेलले लेखेका छन् । फिल्मको मुख्य सहायक निर्देशकमा वसन्त अधिकारी रहनेछन् । भारतको हैदराबादस्थित संसारको सबैभन्दा ठूलो रामोजी स्टुडियोमा फिल्मको छायांकन हुँदैछ भने नेपालमा पनि केही प्रतिशत खिचिनेछ । नेपाली फिल्मको इतिहासमै सबैभन्दा ठूलो लगानीमा ‘ह्रस्व दीर्घ’ निर्माण हुने चर्चा छ ।

