.jpg)
यही असार ३१ गतेबाट प्रदर्शन आरम्भ गर्न लागेको फिल्म ‘सम्झना विर्सना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो टिजर सार्वजनिक गरेको हो । जागिरको खोजीमा रहेकी अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ हाकिम रहेको अफिसमा कर्मचारीको रुपमा भित्रिएपछि आउने उचार-चढावलाई ट्रेलरमा देखाइएको छ ।
फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलरमा आकाश र पूजाबीचको प्रेमलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको भएपनि एक दृश्यमा आकाशले बोलेको एउटा संवाद छ, ‘प्रिती (छुल्ठिम गुरुङ) अझै मेरो मनमा छ ।’ त्यसपछि पूजा र छुल्ठिम आमने-सामने भएको ट्रेलरमा देख्न देखिन्छ । चिया बगानका मजदुरहरुको समस्यालाई पनि ट्रेलरमा दिइएको छ ।
निमेष प्रधान लिखित तथा निर्देशित फिल्ममा सुनील थापा र शिशिर राणाको पनि मुख्य भूमिका रहेको छ । दार्जिलिङ, सिलगुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मलाई अद्वितीय प्रधानको प्रस्तुतिमा रेविका प्रधानले निर्माण गरेकी हुन् । सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका दुई गीत ‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ यतिबेला चर्चाको केन्द्रमा छ ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’को छ । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ । पूजा र आकाश करीब चार वर्षपछि पुनः ठूलो पर्दामा एकसाथ देखिँदैछन् ।

