Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षका लागि भुवन केसीको आवेदन, अरु क-कसले दिए ?

फिल्मीखबर, काठमाडौं, 2022/07/02
दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षका लागि यतिबेला कांग्रेस निकट फिल्मकर्मीहरु भोकनिन्द्रा नभनी दौडिरहेका छन् । सञ्चार तथा सूचना मन्त्रालयले अध्यक्षका आगि आवेदन मागे पनि बोर्डमा राजनीतिक दलको कार्यकर्ता भर्ती हुने भएकाले अध्यक्ष पद माग्दै फिल्मकर्मीहरु राजनीतिक शक्ति केन्द्रहरुमा धाइरहेका छन् ।
 
मन्त्रालयले असार ५ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी फिल्म उद्योगको संरक्षण तथा प्रर्वद्धनमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड तोकेको थियो । 
 
भुवन केसी : गायक हुँदै अभिनेता
 
सञ्चार मन्त्रालयले औपचारिकता पूरा गर्न मात्र सूचना प्रकाशित गरेको भएपनि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन चाहनेले अनिवार्य आवेदन दिनुपर्ने हुन्छ । त्यसैले केही दिनयता सत्ता हाँकिरहेको नेपाली कांग्रेस निकट फिल्मकर्मीहरुले दिनहुँ मन्त्रालय पुगेर आवेदन फारम भरिरहेका छन् । अहिलेसम्म अध्यक्षका लागि आधा दर्जनभन्दा बढीले आवेदन दिइसकेका छन् । 
 
मन्त्रालयले दरखास्त आह्वान गरेको ५ दिनपछि अर्थात् असार १० गते महिला निर्देशक सम्झना रौनियार उप्रेतीले मन्त्रालय पुगेर पहिलो आवेदन दिएकी थिइन् । त्यसपछि निर्देशक अरुणकुमार प्रधान, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक तथा कलाकार नरेशकुमार पौड्याल, निर्माता सुशिल पोखरेल, अभिनेता भुवन केसी र कलाकार सुष्मा कार्कीले आवेदन दिएका छन् ।
 
बिहीवार सञ्चारमाध्यमहरुमा अभिनेता भुवन केसीलाई उमेर र शैक्षिक योग्यता अध्यक्ष पदमा आवेदन दिन बाधक बनेको खबरहरु प्रकाशित भएका थिए । तर, त्यही दिन उनले मन्त्रालय पुगेर आवेदन दिएका हुन् । उनको उमेर र शैक्षिक योग्यता पुगेपछि नै आवेदन दर्ता भएको जानकारी प्राप्त छ । उनको उमेर ६६ वर्ष पुगेको भनेर चर्चा भएपनि अहिले उनी ६३ वर्षमा हिँडिरहेका छन् ।