लभस्टोरी फिल्म निर्देशनमा सुदर्शन थापाले आफ्नो बेग्लै स्थान र उचाईं बनाएका छन् । निर्देशकको रुपमा डेढ दशकको अवधिमा उनले पस्किएका रोमान्टिक लभस्टोरी फिल्मले दर्शकलाई प्रेम गर्न मात्र सिकाएका छैनन्, उनले विश्वास पनि कमाएका छन् । जुन एउटा निर्देशकका लागि ठूलो सम्पत्ति हो । लभस्टोरी फिल्म निर्देशनमा सफल निर्देशकको चर्चा हुँदा उनको नाम छुट्ने गर्दैन ।
.jpg)
सुदर्शनले करिअरको सुरुवाती समयमा निर्देशन गरेका दुई विशेष फिल्म हुन्, ‘मेरो एउटा साथी छ’ र ‘धन्दा’ । ‘मेरो एउटा साथी छ’, उनको पहिलो निर्देशकीय फिल्म थियो भने ‘धन्दा’ उनले आफ्नो करिअरमा गरेको पहिलो फरक धारको फिल्म थियो । उनलाई निर्देशकको रुपमा स्थापित गर्न यी दुई फिल्म कोशेढुंगा सावित भएका थिए । यद्यपि, ‘धन्दा’ भने असफल भएको थियो ।
सन् २००९ मा प्रदर्शन भएको ‘मेरो एउटा साथी छ’मा सुदर्शनले अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता आर्यन सिग्देलसँग काम गरेका थिए भने सन् २०१२ आएको ‘धन्दा’मा अर्पण थापा मुख्य भूमिकामा थिए । डेब्यू फिल्मपछि सुदर्शनले आर्यनसँग केही फिल्ममा काम गरेपनि नम्रता र अर्पणसँग सहकार्य जुर्न सकेको थिएन । अन्ततः एक दशकपछि तीनैजना एउटै फिल्ममा जोडिएका छन् ।
.jpg)
निर्माणको तयारीमा रहेको फिल्म ‘प्रसाद २’लाई सुदर्शनले निर्देशन गर्दैछन् भने नम्रता र अर्पण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्ममा विपिन कार्कीको पनि अभिनय रहनेछ । यसअघि काम गरिसकेका कलाकारसँग पुनः सहकार्य गर्न पाएकोमा सुदर्शन उत्साहित छन् । फिल्मको घोषणा सभामा उनले कलाकारहरुको अभिनय र आफ्नो निर्देशनले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरे ।
उनी नम्रतालाई आफूले राम्रो नायिकाको रुपमा लिने गरेको र आफूहरुबीच राम्रो सम्बन्ध रहेको बताउँछन् । ‘उहाँले ‘मेरो एउटा साथी छ’मा निकै राम्रो क्यारेक्टरमा अब्बल अभिनय गर्नुभएको थियो । सायद त्यो लेभलको क्यारेक्टर मैले अरु फिल्ममा नपाएर पनि उहाँसँग सहकार्य हुन सकेको थिएन होला । धेरैपछि फेरि एकसाथ काम गर्नका लागि म निकै उत्साहित छु,’ सुदर्शनले भने ।

नम्रता श्रेष्ठले पनि लामो समयपछि सुदर्शन थापाको निर्देशनमा काम गर्नका लागि आफू उत्साहित रहेको बताइन् । ‘सुदर्शनजीको वर्किङ स्टाइल पक्कै परिवर्तन भयो होला । त्यो बेला उहाँको डेब्यू फिल्म थियो । उहाँले कति कुरा सिक्दै हुनुहुन्थ्यो, म पनि सिक्दै थिएँ । अहिले हाम्रो अनुभवले गर्दा कामप्रति परिपक्वता आएको छ र त्यो कुरा ‘प्रसाद २’मा देखिन्छ भन्ने लाग्छ,’ नम्रताले भनिन् ।

