
सुदर्शन थापाको निर्देशनमा अभिनेता अनमोल केसीले पहिलो पटक काम गर्ने भएका छन् । शुक्रवार उनले सुदर्शनको निर्देशन र अभिनेत्री पूजा शर्माको निर्माण रहने एक अनटाइटल प्रोजेक्ट साइन गरेका हुन् । यसअघि सुदर्शनले ‘प्रेमगीत’ लगायतका केही फिल्मबाट अफर गरे पनि अनमोलले काम गर्न अस्वीकार गरेका थिए । अन्ततः लामो समयको प्रयासपछि सहकार्य जुरेको छ ।
फिल्ममा अनमोलको जोडी पूजा शर्मासँग बाँधिनेछ । उनीहरुले पनि पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । केही समयअघि एक भेटमा अनमोलले पूजाको आफू ठूलो फ्यान रहेको बताउँदै फिल्ममा काम गर्ने इच्छा रहेको बताएका थिए । पूजाले पनि आफ्ना हरेक फिल्म पहिला अनमोललाई अफर हुने गरेको भएपनि सहकार्य हुन नसकेकोमा मन खल्लो बनाएकी थिइन् ।
फिल्मको छायांकन कात्तिकपछि मात्र सुरु हुने जानकारी प्राप्त छ । यो फिल्मभन्दा अगाडि सुदर्शनले आफ्नो पाइपलाइनमा रहेको फिल्म ‘प्रसाद २’को छायांकन र प्रदर्शन सकाउनेछन् । यो बीचमा अनमोलले पनि हालसालै ५५ लाख पारिश्रमिक बुझेर साइन गरेको फिल्म ‘छड्के २’को छायांकन भ्याउनेछन् । नाम तय हुन बाँकी रहेको फिल्मको कथा निर्देशक थापा स्वयंले लेखेका हुन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु’देखि पूजाले सुदर्शन थापासँग मिलेर फिल्म निर्माण गर्दै आएकी थिइन् । तर, यसपटक अनमोलसँगको फिल्म पूजाको होम प्रोडक्सनमा मात्र निर्माण हुनेछ । यो फिल्मलाई पूजाले आफ्नो ड्रिम प्रोजेक्ट बताउने गरेकी छन् । केही समयदेखि उनी फिल्मको चरित्रमा फिट हुन जिममा वर्कआउट गरिरहेकी छन् । उनले शरीरमा एब्स समेत निकालिसकेकी छन् ।

