Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाखसम्म फिल्म अफर नगर्न विपिनको आग्रह

फिल्मीखबर, काठमाडौं, 2022/07/01
bipin karki
 
फिल्म ‘प्रसाद’ र ‘जात्रा’ सिरिजको सफलतापछि अभिनेता विपिन कार्कीको करिअर उचाईंमा छ । चरित्र निर्माणमा गर्ने मिहिनेत र अभिनय उम्दा गर्ने भएकाले उनलाई फिल्म अफरको ओइरो छ । उनको नामले हलसम्म दर्शकको ठूलो भीड तान्न सक्ने स्टारडम नभएपनि उनीप्रति निर्माता तथा निर्देशकको विश्वासमा कमी आएको छैन । उनी अहिलेका सर्वाधिक महंगा अभिनेतामा पर्छन् । 
 
अचेल विपिन कार्कीले अभिनेता अनमोल केसी बराबर पारिश्रमिक डिमान्ड गर्ने गरेको फिल्म वृतमा चर्चा छ । हालसालै उनले आफूलाई अफर भएका दुई फिल्ममा ५० लाख बढी पारिश्रमिक मागेका थिए । उनको पारिश्रमिक सुनेपछि निर्माता/निर्देशकले कुरै अगाडि बढाउन सकेनन् । उनले माग गरेको पारिश्रमिक उनको स्टारडमको वजनभन्दा ठूलो भएको कतिपयको टिप्पणी छ । 
 
तर, विपिनले पैसाको कुरा नमिलेर फिल्म नगरेको आफूसँग अनुभव नभएको बताउँछन् । फिल्ममा आफूलाई तिरेको पारिश्रमिक फिर्ता पाउने विश्वासले नै निर्माताहरुले आफूमाथि लगानी गरिरहेको हुनसक्ने उनको भनाई छ । बिहीवार फिल्म ‘प्रसाद २’को घोषणा सभामा उनले बैशाखसम्मका लागि आफ्नो सेड्युल फिक्स भइसकेकाले फिल्मको अफर नगर्न पनि आग्रह गरेका छन् । 
 
उनले भने, ‘कति फिल्महरु पैसासम्म नपुगि नै काम गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ । स्कृप्ट हेरेर क्यारेक्टरमा म कन्भिन्स भइनँ भने काम गर्दिनँ । र, जति पनि फिल्महरु मैले गरिनँ, त्यसको क्यारेक्टरले कन्भिन्स नगरेरै हो । तर, पैसाको कुरा नमिलेर मैले फिल्म छाडेको अनुभव छैन । बरु, सित्तैमा पनि फिल्ममा काम गरेको अनुभव छ । मैले ‘रातो सुटकेस’ भन्ने फिल्म सित्तैमा गरेको थिएँ ।’ 
 
धेरै फिल्मबाट अफर आउने भएकाले सबै फिल्ममा आफूले काम गर्न नसक्ने विपिन बताउँछन् । ‘मैले धेरै पारिश्रमिक मागेर फिल्म छाडेको भन्ने खबर आइरहन्छ । मलाई धेरै फिल्मबाट अफर आउँछ । ‘प्रसाद २’कै समयमा तीनवटा स्क्रिप्टबाट अफर आयो । त्यसमध्ये मैले एउटा मात्र छानेँ । म स्क्रिप्ट, क्यारेक्टर, निर्देशक र टिमको आधारमा फिल्म छनौटको निर्णय लिने गर्छु,’ उनले भने ।