
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ आगामी भदौ २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनाको कथा बोल्छ । तर, जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै अवरोधले उनको सपना भताभुंग हुन्छ ।
दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा ‘ऐना झ्यालको पुतली’ छनौट भइसकेको छ । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ यो फिल्म छनौट भएको थियो ।
फिल्मले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड दिलाएको थियो । लेखक तथा निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ सुजितको डेब्यू फिल्म हो । उनले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए । उनले किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताएका छन् ।
‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ,’ सुजितले भने, ‘फिल्ममा देशका महिलाको पनि प्रतिविम्ब देख्न सकिन्छ ।’ किशोरी र उनको भाइबीचको बालसुलभ सम्बन्ध र यो सम्बन्धमार्फत् पितृसत्तात्मक सोचमा परिवर्तन गर्नुपर्ने आवश्यकतालाई फिल्मले इंगित गर्ने उनले बताए ।
फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतको अभिनय छ । आइसफल प्रडक्सन र लोकल सिनेमाको ब्यानरमा आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठले निर्माण गरेको फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन र पुष्पा संगमको संगीत रहेको छ ।

