.jpg)
कोरोना महामारी मत्थर भएर नियमित रुपमा सिनेमा हलहरु सञ्चालन हुन थालेपछि कोरोनाले रोकिएका र नयाँ निर्माण भएका फिल्महरुले धमाधम प्रदर्शन मिति घोषणा गरिरहेका छन् । आगामी भदौंदेखि कुनै पनि साना-ठूला नेपाली फिल्मले सोलो रिलिजको अवसर पाउने सम्भावना न्यून देखिएको छ । एकै मितिमा दुईभन्दा बढी फिल्मले प्रदर्शन मिति घोषणा गरिरहेका छन् ।
आगामी तिहारमा पनि नेपाली फिल्मबीच बक्सअफिसमा महासंग्राम हुने भएको छ । तिहारको विदालाई लक्षित गर्दै ऐतिहासिक विषयवस्तुमा बनेको फिल्म ‘नालापानी’ र मित्रताको कथामा निर्माण भएको फिल्म ‘२ नम्बरी’ले कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यस्तैमा, यो मितिलाई अर्को नेपाली फिल्मले पनि प्रदर्शन मिति रोजेको छ । त्यो फिल्म हो, ‘प्रसाद २’ ।
बिहीवार फिल्मको औपचारिक निर्माण घोषणा गर्दै प्रदर्शन मिति तोकिएको हो । अब कात्तिक ४ मा तीन फिल्म भिड्ने निश्चित भएको छ । तिहारमै फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शन हुने चर्चा छ । तर, यो फिल्मले प्रदर्शन मिति तोकिसकेको अवस्था छैन । फिल्म प्रदर्शनका लागि तिहारको विदा उचित समय मानिन्छ । यसैले हरेक तिहारमा नेपाली फिल्मबीच भिडन्त हुँदै आएको छ ।
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’को आगामी साउनबाट बागलुङको रीघा गाउँमा छायांकन हुँदैछ । केशव पाण्डेसँग मिलेर सुभाष थापाले निर्माण गर्न लागेको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतको अभिनय रहनेछ ।

