.jpg)
दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि लबिङ गर्न नेपाली कांग्रेसका सदस्य तथा अभिनेता भुवन केसी शक्तिकेन्द्र धाइरहँदा उनका समकालीन अभिनेता राजेश हमाल भने राजनीतिक भेटघाटमा जुटेका छन् । उनले शुक्रवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका हुन् ।
प्रचण्डको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र फिल्म क्षेत्रको विषयमा कुराकानी भएको फिल्म निर्माता तथा संगीतकार चेतन कार्कीले जानकारी दिए । प्रचण्ड र हमाललाई भेट गराउने पूलको काम चेतनले नै गरेका हुन् । उनी माओवादीका नेता समेत हुन् । प्रचण्ड र हमालले आमने-सामने भएर कुराकानी गर्दा चेतन पनि साथमा थिए ।
प्रचण्डसँगको भेटमा राजेश हमालले आफ्नो राजनीतिप्रति चासो रहेको बताउँदै भविष्यमा राजनीतिमा आउन सक्ने संकेत गरेको जानकारी प्राप्त छ । प्रचण्डले पनि हमाललाई राजनीतिमा आउन आग्रह गरेका थिए । प्रचण्ड र हमालको यो पहिलो औपचारिक भेटघाट हो । विकास बोर्ड अध्यक्षविहीन रहेको अवस्थामा हमाल राजनीतिक भेटघाटमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
बौद्धिक अभिनेताको रुपमा चिनिने हमाललाई देशका अधिकांश राजनीतिक दलहरुले आफ्नो पार्टीमा ल्याउन विभिन्न प्रलोभनको कार्ड फ्याकिरहेका छन् । राजनीतिक दलहरु उनलाई पार्टीमा भित्राएर भोट र भीड बटुल्न चाहन्छन् । तर, हमाल अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीप्रति खुलेका छैनन् । यतिबेला उनलाई रवि लामिछानेले आफ्नो पार्टीमा ल्याउन कसरत गरिरहेको चर्चा छ ।

