Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’ घोषणा, निश्चललाई नहटाएको सुदर्शनको स्पष्टिकरण

फिल्मीखबर, काठमाडौं, 2022/06/30
निर्देशकदेखि कलाकारसम्म हेरफेर गर्दै फिल्म ‘प्रसाद २’को निर्माण घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ‘कास्ट एन्ड क्रियू’लाई चिनाइयो । पहिला सौरभ चौधरीले निर्देशन गर्ने पक्का भएको फिल्मलाई अब सुदर्शन थापाले निर्देशन गर्दैछन् भने मुख्य भूमिकामा अनुबन्ध भएका निश्चल बस्नेत बाहिरिएपछि उनको ठाउँमा अर्पण थापालाई लिइएको छ ।
 
movie prasad
 
फिल्ममा निर्देशकको रुपमा सुदर्शन थापा भित्रिए लगत्तै निश्चल बाहिरिएका थिए । यसको कारण सुदर्शन र निश्चलबीच राम्रो सम्बन्ध नहुनुलाई मानिएको छ । तर, फिल्मको घोषणा सभामा निर्देशक थापाले निश्चलसँग आफ्नो कुनै खालको मतभेद नभएको स्पष्ट पारे । ‘प्रसाद २’मा आफू भित्रिएपछि एकपटक निश्चलसँग भेट भएको तर त्यसबेला फिल्मको बारेमा कुरा नै नभएको उनको भनाई छ ।
 
‘निश्चलसँग एकपटक कफी भेट हुँदा उहाँलाई मैले ‘प्रसाद २’ गर्दैछु भन्ने जानकारीबाहेक फिल्मको बारेमा अरु केही नै कुरा भएन,’ सुदर्शनले भने, ‘पछि निर्माताले फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठबाहेक अरु क्यारेक्टरका लागि कलाकार फाइनल नभएको बताएपछि मैले त्यस क्यारेक्टरमा अर्को कलाकार कास्ट गरेको हुँ ।’ उनले निश्चललाई आफूले नहटाएको पनि स्पष्टिकरण दिए । 
 
फिल्मका निर्माता सुभाष थापाले भने व्यस्तताका कारण निश्चल बस्नेतले ‘प्रसाद २’मा काम गर्न नसकेको जानकारी दिए । ‘हामी टिम नफुटोस् भन्ने नै चाहन्थ्यौं । हामीले विपिन, नम्रता र निश्चल तीनै जनासँग सम्झौता गरेका थियौं । फिल्म बन्न अलि ढिलो भएपछि निश्चल बस्नेतले व्यस्तताका कारण काम गर्न नभ्याउने बताएपछि मैले पनि त्यो कुरालाई सहजै स्वीकार गरेँ,’ उनले भने ।
 
फिल्मबाट निश्चल बाहिरिए पनि विपिन कार्की र नम्रता श्रेष्ठ भने यथावत् छन् । २०७५ सालमा प्रदर्शन भएको ‘प्रसाद’ जहाँ टुंगिएको थियो त्यहीँबाट ‘प्रसाद २’ सुरु हुनेछ । सुशील पौडेलको लेखन रहेको फिल्ममा राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । 
 
bipin karki and namrata shrestha
 
केशव पाण्डेसँग मिलेर सुभाष थापाले निर्माण गर्न लागेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, राजनराज सिवाकोटी र हरी लम्सालको संगीत रहनेछ । सुदर्शनले ‘प्रसाद’को आफू प्रशंसक रहेको बताउँदै ‘प्रसाद २’ वास्तविक सिक्वेल हुने जिकिर गरे । त्यस्तै, विपिनले बाबुरामको क्यारेक्टरमा फर्किन आफू उत्साहित रहेको बताए ।