अभिनेत्री नीता ढुंगानाले प्रेमी हरिहर अधिकारीसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा साउथका कलाकारहरुको ठूलो समुह हुने भएको छ । ‘पुष्पा’ भिलेन सुनिल वर्मा, ‘गजनी’ भिलेन प्रदीपराज रावत र साउथका चर्चित कमेडी कलाकार अलीलाई फिल्ममा अनुबन्ध गराएपछि निर्माण टिमले मंगलवार साउथका अर्का विश्व प्रख्यात कलाकार ब्रह्मानन्दमसँग सम्झौता गरेको छ ।

ब्रह्मानन्दमको प्रवेशसँगै ‘ह्रस्व दीर्घ’लाई लिएर फिल्मकर्मीसँगै दर्शकहरुको चासो चुलिएको छ । नेपालमा उनको लोकप्रियता ठूलो छ । उनको अनुहारको एक्सप्रेसन र कमेडी टाइमिङ जबर्जस्त मानिन्छ । संसारमै सबैभन्दा बढी फिल्म खेल्ने जीवित कलाकारको रुपमा गिनिज बुक अफ रेकर्डमा नाम लेखाएका उनले केही समययता स्वास्थ्य समस्याका कारण फिल्ममा काम गरेका छैनन् ।
‘ह्रस्व दीर्घ’ निर्देशक चन्द पन्तले उनलाई निवासमै गएर भेट गरेका हुन् । चरित्र बलियो भएकाले ब्रह्मानन्दम फिल्ममा अभिनय गर्न राजी भएको चन्द्र बताउँछन् । उनलाई प्रतिदिन ८ लाख भारु (नेपाली १३ लाख आसपास) दिने गरी सम्झौता भएको पन्तले बताए । उनले फिल्मलाई ८-१० दिन समय दिनेछन् । जसबापत ब्रह्मानन्दमले १ करोडदेखि १ करोड ३० लाखसम्म पारिश्रमिक पाउनेछन् ।
चन्द्रले भने- ‘ब्रह्मानन्दमले केही समयदेखि स्वास्थ्यका कारणले फिल्ममा काम गर्नुभएको छैन । हाम्रो आग्रह चाहिँ उहाँले नकार्न सक्नुभएन । पारिश्रमिकमा पनि उहाँले साउथ फिल्ममा लिनेभन्दा कम लिनुभएको छ ।’ फिल्ममा उनको भूमिकामा कस्तो हुनेछन्, त्यसबारेमा भने केही खुलाइएको छैन । भेटमा ब्रह्मानन्दमले आफू १२-१३ वर्ष अगाडि नेपाल गएको स्मरण गरेको चन्द्रले बताए ।

असार अन्तिममा नीता र हरिहर विवाह बन्धनमा बाँधिने तयारीमा छन् । विवाह लगत्तै उनीहरु फिल्मको छायांकन थाल्ने तयारीमा थिए । तर, विभिन्न कारणले फिल्मको छायांकन दशैं पछाडि हुने भएको छ । फिल्मको स्क्रिप्ट भने लक भइसकेको छ । नीता र हरिहरको मुख्य भूमिका रहने फिल्मको नेपालसँगै भारतको हैदरवादमा अवस्थित रामोजी स्टुडियोमा छायांकन हुने बताइएको छ ।

