.jpg)
नेपाल उद्योग बाणिज्य महासंघले फिल्मका निर्माताहरुलाई प्रोजेक्ट कर्जा दिन सरकारसँग माग गरेको छ । मंगलवार महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघको आयोजनामा भएको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र करको अधिकार’ कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले फिल्मलाई ५० प्रतिशत प्रोजेक्ट कर्जा दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपाली फिल्मका निर्माताहरुले आफ्नो घर-जग्गा धितो राखेर लिएको ऋणबाट फिल्म बनाउँदै आएका छन्, जसबाट निर्माताहरुले ठूलो क्षति भोग्नुपरेको छ । सरकारले अन्य राष्ट्रिय प्राथमिकता उद्योगसरह फिल्मलाई धितो राखेर प्रोजेक्ट कर्जा दिनुपर्छ र यसका लागि महासंघले पहल गर्छ ।’ उनले नेपाली फिल्ममा कर्पोरेट लगानी भित्राउनु पर्ने पनि धारणा राखेका छन् ।
सरकारको नीति तथा कार्यक्रमहरू कार्यान्वयन भए मात्रै फिल्म क्षेत्रको समस्या समाधान हुने गोल्छाको भनाई छ । उनले कोरोना महामारीका कारण भएको बन्दाबन्दी अवधिको सिनेमा हलको विद्युत् महसुल पूर्ण रूपमा छुट गर्न पनि सरकारसँग माग गरेका छन् । उनले नेपाल प्राकृतिक सुन्दरताले भरिएकोले अन्तरिकसँगै बाह्य फिल्मको छायांकनका लागि आकर्षणको केन्द्र बन्ने बताए ।
.jpg)
सरकारको तर्फबाट सूचना तथा सञ्चार सचिव वैकुण्ठ अर्यालले नेपाली फिल्मले राष्ट्रिय उद्योगको मान्यता पाएकाले अब कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताए । उनले निर्माता संघलाई कार्यविधि बनाएर पेश गर्न आग्रह गरे । त्यस्तै, निर्माता संघका अध्यक्ष एवं मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले कार्यविधि बनाएर नेपाली फिल्म उद्योगलाई बलियो बनाउनु पर्ने धारणा राखे ।

