
फिल्ममा आफ्नो करिअर धरमर हुन थालेपछि अमेरिका भाँसिने कलाकारहरुको सूचिमा अभिनेत्री अरुणिमा लम्साल पनि पर्छिन् । आफ्नो नाममा फिल्म विक्न छोडेपछि उनी सन् २०१५ तिर ग्रिनकार्ड बोकेर परिवारको साथमा अमेरिका उडेकी थिइन् । अमेरिका पुगेको केही वर्षमा उनले श्रीमानबाट अलग बस्ने निर्णय गरिन् । अहिले उनी एक छोरीको साथमा अमेरिकामा बस्दै आएकी छन् ।
अमेरिका भाँसिएपछि अरुणिमाको फिल्मसँग त दूरी बढ्यो नै, उनी नेपाल समेत आउन पाएकी थिइनन् । करीब ८ वर्षपछि उनले जन्मभूमिमा पाइला टेकेकी छन् । उनी यसै साता नेपाल आएकी हुन् । उनले सोसल मिडियामार्फत् आफू ८ वर्षपछि अमेरिकाबाट नेपाल आएको बताएकी छन् । यतिबेला उनी घुमफिरका साथै फिल्म क्षेत्रका आफ्ना घनिष्ट साथीहरुसँग भेटघाटमा व्यस्त छिन् ।
मंगलवार उनको अभिनेत्री रेखा थापासँग भेट भएको थियो । रेखासँग भेटको तस्विर सोसल मिडियामा शेयर गर्दै उनले ८ वर्षपछि भेट हुँदाको खुशी साटेकी छन् । फिल्ममा सक्रिय रहँदा खुब मिल्ती रहेका उनीहरुले ‘धड्कन’, ‘मिस्टर मंगले’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ लगायतका फिल्ममा सँगै काम गरेका छन् । भेटमा उनीहरुले फिल्ममा एकसाथ काम गर्दाको क्षण सम्झिएका थिए ।
अरुणिमाको नेपाल बसाई कति समयको हुनेछ, त्यसबारेमा जानकारी प्राप्त छैन । करिअरको उचाईंमा रहँदा ५० बढी फिल्ममा अभिनय गरेकी अरुणिमाले केही समय अगाडि अभिनेत्री ऋचा घिमिरेसँगको भिडियो कुराकानीमा आफू ढिलो चाँडो फिल्ममा फर्किने बताएकी थिइन् । आफू नहराएको बताउँदै उनले केही समयका लागि फिल्मबाट विश्राम मात्र लिएको उनको भनाई थियो ।

