
सामाजिक विषयवस्तुमा मनछुने फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका दीपेन्द्र के. खनालले आफ्नो नयाँ फिल्म ‘के घर के डेरा’को छायांकन सकाएका छन् । जेठ २ गतेबाट छायांकनमा निस्किएको फिल्मको ३३औं दिनमा मंगलवार इन्डक्ल्याप भएको निर्देशक खनालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं भ्यालीभित्रै भएको हो ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतको अभिनय छ । फिल्मलाई आगामी तिहारमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । कात्तिक ६ गते फिल्म प्रदर्शन हुने सम्भावना प्रवल छ । यो मितिलाई प्रदर्शन मिति घोषणा गरेको दीपेन्द्र निर्मित फिल्म ‘परस्त्री’लाई केही पछाडि सारेर ‘के घर के डेरा’लाई प्रदर्शन गर्ने तयारी गरिएको जानकारी प्राप्त छ ।
फिल्मको कथा सिंगे लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् । दिर्घ गुरुङको छायांकन, शंकर थापाको संगीत, सुव्रतराज आचार्य र डिपी खनालको शब्द रहेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गर्नेछन् ।

