नेपाली रंगमञ्चको एउटा बलियो पिल्लर हुन्, अनुप बराल । पछिल्लो समय रंगमञ्चप्रति आकर्षण बढ्नुमा उनको ठूलो योगदान मानिन्छ । नाटकमा आफूलाई निर्देशक र कलाकारको रुपमा अब्बल प्रमाणित गरेका उनले फिल्ममा पनि यी दुवै विधामा हात हालेका छन् । ‘फिटकिरी’बाट फिल्म निर्देशनमा होमिएका उनी निर्देशित नयाँ फिल्म ‘दोख’ असार २४ गतेबाट प्रदर्शन हुँदैछ ।
यो फिल्ममा उनले माओवादी-सशस्त्र द्वन्द्वले समाजमा पारेको असरको कथालाई उठाएका छन् । युद्धविरामको १६ वर्षपछि उनले द्वन्द्वकालको कथा किन देखाउन खोज्दैछन् ? सोमवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको सोधेको प्रश्नमा अनुपले जुनसुकै नाममा युद्ध गरिए पनि त्यसले देश र समाजलाई छाड्ने असर पछि देखिने भएकाले फिल्ममा त्यही पक्ष देखाएको बताए ।

उनले भने- ‘मैले युद्धमाथि बनेका हलिउडका धेरै फिल्म हेरेको छु । उनीहरुले युद्धको कथा अहिले देखाउनुको पछाडि म एउटै लजिक के देख्छु भने युद्धले छोडेका डोबबाट मानिसहरु अझै मुक्त हुन सकेका छैनन् । युद्धको घाउले अहिले पनि मानिसहरुलाई अचेटिरहेको छ ।’ द्वन्द्वकालमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारको संवेदनालाई फिल्मले उठाउनु पर्ने अनुपको तर्क छ ।
‘दोख’ले द्वन्द्वकालको मानवीय पक्षलाई देखाएको उनी बताउँछन् । ‘युद्धले मनोविज्ञान जन्माउँछ र त्यो मनोविज्ञान सबैभन्दा घातक हुन्छ । त्यसले पछि हिंसा र प्रतिशोधको रुप लिन्छ । प्रतिशोधको हिंसा भनेको नकारात्मक हो र त्यसले हामीलाई कहीँ पुर्याउँदैन’, निर्देशक बराल फिल्मको कथासार प्रस्ट्याउँदै भन्छन्, ‘प्रतिशोधको बाटोमा हिँडेर हामी कहीँ पुग्दैनौं भन्ने नै फिल्मको मुद्धा हो ।’
त्यस्तै, फिल्मको मुख्य भूमिकामा रहेकी अभिनेत्री दीया मास्के ‘दोख’मा निर्वाह गरेको चरित्र आफ्नो लागि अत्यन्त अर्थपूर्ण र विशेष रहेको बताउँछिन् । द्वन्द्वकालकै परिवेशमा निर्माण भएको अर्को फिल्म ‘प्रकाश’मा पनि चुनौतीपूर्ण भूमिकामा अभिनय गरेकी उनी दुवै फिल्मको चरित्रको बारेमा भन्छिन्, ‘दुवै चरित्र त्यसै उभ्याइएका मात्र होइनन् । दुवै चरित्रले फिल्ममा ठूलो अर्थ बोकेका छन् ।’

