
नेपाली फिल्म क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । गत महिना भएको संघको ४७औं साधारण सभाबाट अध्यक्षमा विरेन्द्र नारायण श्रेष्ठ सर्वसम्मतले चयन भएपछि १३ जना सदस्यमा चुनिएका थिए । निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पदाधिकारी चुन्ने संघको विधानअनुसार सोमवार सबै सदस्यहरुलाई पदीय जिम्मेवारी सुम्पिएको छ ।
संघको बैठकले प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगानालाई मनोनित गरेको छ । त्यस्तै, महासचिवको जिम्मेवारी नरेन्द्र महर्जनले पाएका छन् । उनी कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक हुन् । यसअघि चलचित्र संघको महासचिवमा अशोक शर्मा थिए । यसपटक उनी संघको कार्यसमितिमा आएका छैनन् ।
उपमहासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिलप्रसाद द्वा चयन हुँदा सदस्यहरुमा मिजास पोखरेल, निरज कार्की, गोविन्द शाही, चैतन्य बराल, युवराज प्रसाईं, प्रज्वल जबरा, सुरेन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य मनोनित छन् । त्यस्तै, पूर्वाञ्चल समिति सभापतिमा निरज गुप्ता र पश्चिमाञ्चल समितिको सभापतिको जिम्मेवारी संघले केदारप्रसाद पराजुलीलाई सुम्पिएको छ ।

सुरेन्द्र कुमार थापाको सभापतित्वमा उपत्यका समिति पनि चुनिएको छ । जसमा दुर्गालाल प्रधान उपसभापति, सुरेन्द्र तण्डुकार सचिव र रितेश थकुलवट सदस्य छन् । संघले प्रदर्शन समितिको सभापतिमा प्रज्वल राणा र वितरण समितिको सभापतिमा गोविन्द बहादुर शाहीलाई चयन गरेको छ । राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदीपकुमार उदय र अर्जुन श्रेष्ठ भने सल्लाहकारमा छन् ।

