आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’बाट रेनु योगीले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । केही सफल नाटकमा अभिनय गरिसकेकी उनलाई निर्माण टिमले अडिसनबाट छनोट गरेको थियो । फिल्ममा उनको जोडी चल्तीका अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । प्रदीप झैं फिल्ममा रेनुले पनि जुम्लेली चरित्रमा अभिनय गरेकी छन् ।
निर्माण टिमले टिजरदेखि फर्स्टलुक पोस्टरसम्म रेनुलाई स्थान दिएको थिएन । सोमवार फिल्मको अर्को एक पोस्टर सार्वजनिक गर्दै उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा उनी किताब र कापी च्यापेर विद्यालयको पोशाकमा प्रदीपको साथमा हिँडिरहेको देख्न सकिन्छ भने प्रदीप कालो रंगको ट्राउजरको खल्तीमा किताब राखेर रेनुसँग गफ गर्दै पाइला नापिरहेका छन् ।

पोस्टरमा रेनुभन्दा प्रदीपको लुक्सले ध्यान खिच्छ । उनले लगाएको पहिरनले दयाभाव पलाउँछ भने अनुहारको भावभंगीमा दुःख र पीडाको सागर देखिन्छ । फिल्ममा उनले जुम्लाको विपन्न परिवारको युवकको भूमिका निर्वाह गरेका छन् । अध्ययन सकाएपछि गाउँकै सरकारी विद्यालयमा शिक्षक बन्न उनले गर्नुपरेको संघर्षमा फिल्म आधारित छ । उनी फिल्मको टाइटल क्यारेक्टरमा छन् ।
रेनुले आफू अटेको फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै प्रदीपबाट प्रभावित भएको बताएकी छन् । उनले प्रदीपलाई स्टारको रुपमा सम्बोधन गर्दै लेखेकी छन्, ‘सुरुवातदेखि नै कथा, पात्र र फिल्मलाई नै लिएर उहाँको उत्साह, मेहनत अनि लगन देखेर म आफैं निकै प्रभावित भएकी छु ।’ फिल्ममा अभिनय गर्दा आफूले विल्कुलै नयाँ अनुभव बटुल्न पाएको उनको भनाई छ ।
फिल्ममा प्रदीप र रेनुसँगै दीया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, दिपेन्द्र शाही, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको अभिनय छ । बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।


