Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक, भदौ २४ लाई प्रदर्शन मिति घोषणा

फिल्मीखबर, काठमाडौं, 2022/06/28
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारितफिल्म ‘गोर्खा स् बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४७ सेकेन्ड लम्बाईको ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको एक युद्धमा देखाएको बहादुरीको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । 
 
gorkha- movie
 
प्रदीप शाहीको निर्देशनमा बनेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । 
 
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ हुनेछ । नेपालमा फिल्मलाई आरआर फिल्मस् (रोहित-रत्न) ले वितरण गर्नेछ । 
 
निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको जानकारी दिएका छन् । त्यस्तै, निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित फिल्ममा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताएका छन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।
 
सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।