
नेपालको तराई-मधेश क्षेत्रलाई भोजपुरी फिल्मको ठूलो बजार मानिन्छ । राजविराज, जनकपुर, जलेश्वर, गौशाला, विरगन्ज, गौर, मलंगवा, कलैया लगायतका मधेशी समुदायको बाहुल्यता रहेका ठाउँका सिनेमा हलहरुमा नेपाली फिल्म आक्कल-झुक्कल मात्र प्रदर्शन हुन्छन् । त्यो पनि दर्शक अभावले गर्दा दुई दिनमै उत्रिन्छन् । तर, भोजपुरी फिल्म भने हप्तैपिच्छे प्रदर्शन हुने गरेका छन् ।
यसैबीच, नेपालका चन्द्र पन्तले निर्देशन गरेको भोजपुरी फिल्म ‘रण’ नेपालका हलहरुमा प्रदर्शन हुने भएको छ । नेपालको तराई-मधेश क्षेत्रका हलहरुलाई लक्षित गर्दै यसै साताको शुक्रवारबाट फिल्म प्रदर्शन हुँदैछ । फिल्मलाई काठमाडौंका केही मल्टीप्लेक्स र सिंगल थिएटरमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । काठमाडौंको विश्वज्योति हलमा फिल्म प्रदर्शन हुने पक्का भइसकेको छ ।
निर्देशक पन्तले राजधानी र मोफसल गरी ४० बढी हलमा फिल्म प्रदर्शन हुने जानकारी दिए । यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थाल्दैछ भने जुलाई १० तारिखबाट दिल्लीमा पनि फिल्म रिलिज हुनेछ । प्रान्तिय भाषाका फिल्महरु आजभोली भारतका ठूला राज्यहरुमा प्रदर्शन हुँदै आएका छन् ।
नेपाली कलाकार तथा प्राविधिक समेत आवद्धता रहेको ‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन् । फिल्ममा उनी नकारात्मक भूमिकामा छन् । नरेनसँगै फिल्ममा आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको अभिनय छ । चन्द्र पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।
यो फिल्मलाई नेपालका अर्जुन जिसी सम्पादन गरेका हुन् भने मित्र डि गुरुङले टिजर र शाहिल खानले ट्रेलरको सम्पादन गरेका हुन् । महेश पौडेलको छायांकन रहेको फिल्मका गीतमा नेपालका दुई व्यस्त कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टको कोरियोग्राफी छ । सयौं नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका चन्द्र पन्त यतिबेला भोजपुरी फिल्म निर्देशनमा जमेका छन् ।

