नेपालका चकलेटी हिरोहरुमाथि लाग्ने गरेको एउटा आरोप छ, ‘उनीहरु अभिनय सुधार गर्न मिहिनेत नै गर्दैनन् । मात्र गोरो अनुहार बेचेर करिअर बचाइरहेका छन् ।’ हुन पनि, केही वर्षयता नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएका चकलेटी हिरोहरुको अभिनय हेर्दा नाक खुम्च्याउनु पर्ने अवस्था छ । हरेक फिल्ममा न अभिनयमा भिन्नता छ न चरित्रमा फरकपन दिन सकेका छैनन् ।
अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्का भने चकलेटी हिरोहरुको भीडमा आफूलाई पृथक रुपमा उभ्याउने कोशिशमा छन् । फिल्म ‘प्रेमगीत’बाट लभर ब्वाईको भूमिकामा जमेका उनी आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा आफ्नो कम्फर्ट जोनबाट पूरै बाहिर निस्किएका छन् । फिल्ममा उनले बाँचेको चरित्रले उनको चकलेटी लुक्सलाई छोपेको छ ।

यो फिल्ममा प्रदीप जुम्लेली चरित्रमा छन् । द्वन्द्वकालमा बेपत्ता पिताको सपना साकार गर्न गाउँको सरकारी स्कूलमा शिक्षक बन्न उनले गर्नुपरेको संघर्षको कथालाई फिल्ममा देखाइएको छ । फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए ।
‘प्रकाश’को छायांकन सुरु हुनुभन्दा अगाडि उनलाई कलाकार तथा निर्देशक अनुप बरालले करीब ३ महिना अभिनयको तालिम दिएका थिए । कहिले पोखरा त कहिले काठमाडौंको अनामनगरमा रहेको ‘एक्टर स्टूडियो’मा प्रदीपले अनुप बरालबाट अभिनयका विभिन्न आयामहरु सिके । कलाकार बरालले प्रदीपलाई अभिनय सिकाउने क्रममा विभिन्न चुनौतीपूर्ण ‘टाक्स’ समेत दिएका थिए ।
हालै एक टेलिभिजन अन्तर्वार्तामा अनुप बरालले प्रदीपलाई आफूले एकान्तकुना (जहाँ प्रदीपको घर छ) देखि अनामनगरसम्म खाली खुट्टा हिँडेर आउन चुनौती दिएको र प्रदीपले त्यो काम गरेर देखाएको बताएका छन् । फिल्ममा जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले काठमाडौंमा हुर्केका प्रदीपलाई मानसिक रुपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेको उनी बताउँछन् ।
उनले भने-, ‘प्रदीप स्टार हो । तर, ‘प्रकाश’मा उसले खाली खुट्टा हिँड्नु पर्ने चरित्र छ । वर्कअपमा मैले प्रदीपलाई एकान्तकुनादेखि अनामनगरसम्म (६ कि.मी.) मास्क लगाएर खाली खुट्टा हिँडेर आउन भनेँ । उसले त्यो गरेरै देखायो । एउटा कलाकारले चाह्यो भने गर्न सक्ने रहेछ नी ।’ आफ्नो काममा विविधता आओस् भनेर सोच्ने कलाकारमा आफूले प्रदीपलाई देखेको उनको भनाई छ ।
दिनेश राउत निर्देशित ‘प्रकाश’का अनुप बराल कास्टिङ डाइरेक्टर समेत हुन् । फिल्ममा उनकी श्रीमती दीया मास्केले प्रदीपको आमाको भूमिकामा अभिनय गरेकी छन् । फर्स्टलुक पोस्टर, टिजर र गीतबाट लोभलाग्दो हाइप बनाएको यो फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ ।

