.jpg)
‘जात्रा’, ‘शुत्रे गते’ र ‘जात्रै जात्रा’ गरी तीन ब्लकबस्टर फिल्म दिएर ह्याट्रिक गरेका प्रदीप भट्टराई यतिबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर फिल्म ‘महापुरुष’को निर्देशन गरिरहेका छन् । यसपछि उनले पहिलो पटक पुस्तकमाथि निर्माण हुन लागेको फिल्मको निर्देशन गर्ने भएका छन् । नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’माथि बन्ने फिल्मको निर्देशकमा उनी भित्रिएका हुन् ।
शनिवार निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निशा खरेल र निर्देशक भट्टराईबीच कागजी सम्झौता भएको हो । भट्टराईले मोटो पारिश्रमिक लिएर फिल्म साइन गरेको जानकारी प्राप्त छ । निर्मात्री निशाले ‘लू’ उपन्यासको मर्मलाई पर्दामा उतार्न सक्ने क्षमता आफूले प्रदीप भट्टराईमा देखेको बताएकी छन् । भट्टराईले पनि शब्दलाई दृश्य भाषामा उतार्न कुनै कसर नछाड्ने बताए ।
‘लू’मा कालीप्रसाद बाँस्कोटाले संगीत दिँदैछन् । फिल्मका लागि कलाकारको टुंगो लागिसकेको छैन । फिल्मको आगामी मंसिरबाट छायांकन थाल्ने तयारीमा निर्माण छ । पश्चिम नेपालको सीमावर्ती क्षेत्रका अवधिभाषी पात्र र तिनका जीवन भोगाइहरूलाई ‘लू’मा उतारिएको छ । यो उपन्यासमाथि २०७३ सालमा सरिता साहको निर्देशनमा मण्डला थिएटरमा नाटक समेत मञ्चन भएको थियो ।

