एउटै फिल्ममा काम गरेपछि कलाकारबीच प्रेम सम्बन्धको चर्चा चल्नु अनौठो होइन । कतिले फिल्मको चर्चाका लागि प्रेमको हल्ला फिजाउने गरेका छन् भने कति वास्तवमै प्रेम सम्बन्धमा डुबेका हुन्छन् । सुटिङ सेटमा प्रेम अंकुराएर केही फिल्मी जोडी विवाह बन्धनमा समेत बाँधिसकेका छन् । यतिबेला फिल्मी बजारमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री प्रेममा रहेको चर्चा छ ।
उनीहरुले पहिलो पटक फिल्म ‘कृष्ण लीला’मा अभिनय गरेका छन्, जुन आगामी भदौ ३ गतेबाट प्रदर्शनमा उत्रिँदैछ । यसअघि २०७७ सालको चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भएपछि पुष्प र श्रद्धा अवार्ड कार्यक्रमदेखि विभिन्न सार्वजनिक कार्यक्रममा एकसाथ पुगेका थिए । पछि कोरोना महामारीले फिल्मको रिलिज विथोल्यो । तर, उनीहरु एकसाथ देखिन छाडेनन् ।

केही समय अगाडि उनीहरु एक बिहे पार्टीमा समेत सँगै पुगेका थिए । गत वर्ष यो जोडीले एकसाथ ‘ए मेरो हजुर’ बोलको म्यूजिक भिडियोमा पनि काम गर्यो । अहिले यो गीत ‘कृष्ण लीला’मा राखिएको छ, जुन शुक्रवार सार्वजनिक गरियो । यो गीत उनीहरुले एकअर्कासँग स्क्रिन शेयर गर्न पाइने लोभमा गरेको बजारमा चर्चा छ । गीतको छायांकनका लागि उनीहरु तिलिचो पुगेका थिए ।
शुक्रवार ‘ए मेरो हजुर’ गीत रिलिज कार्यक्रममा एक सञ्चारकर्मीले घुमाउरो रुपमा बजारमा चलिरहेको उनीहरुको प्रेम चर्चाको बारेमा कुरा कोट्याउन खोजे । जुन प्रश्नले पुष्प र श्रद्धाको अनुहारको रंग उडायो । श्रद्धाले हड्बडिएको आवाजमा रेडिमेड जवाफ फर्काइन्, ‘वास्तवै भन्नुपर्दा पुष्प राम्रो साथी मात्र हो ।’ त्यसो त प्रेममा रहेको फिल्मी जोडीबाट प्रायः सुनिने जवाफ यही हुने गर्छ ।
पुष्पले भने श्रद्धासँग सार्वजनिक कार्यक्रमहरुमा सँगसँगै देखिनुको कारणबारे स्पष्ट पार्दै भने, ‘हामी सँगै हुँदा ‘कृष्ण लीला’लाई नै प्रतिनिधित्त्व गर्ने भएकाले पनि हो ।’ उनले श्रद्धा क्षेत्रीमा प्रेमिका, श्रीमती र साथी सबैको गुण रहेको भन्दै प्रशंसाको पूल समेत बाँध्न भ्याए । तर, प्रेम चर्चाको बारेमा बोल्न चाहेनन् । श्रद्धाले भने आफूले केही गर्न खोजे पुष्पसँग सल्लाह-सुझाव माग्ने गरेको बताइन् ।
यस्तैमा, पत्रकारले पुष्पसँगको सम्बन्ध खोतल्न श्रद्धा क्षेत्रीलाई एउटा रमाइलो प्रश्न गरे, ‘सपनामा पुष्पलाई देख्ने गर्नुहुन्छ ?’ जवाफ दिनुअघि पुष्पसँग आँखा जुधाउँदै उनले हाँस्दै भनिन्, ‘अहिलेसम्म पुष्प सपनामा आएको छैन । ‘कृष्ण लीला’को कृष्ण चाहिँ आउँछ होला तर पुष्प त आउँदैन ।’ पुष्पले श्रद्धासँग काम गर्न सहज भएको र उनको फिल्म क्षेत्रमा भविष्य राम्रो देखेको बताएका छन् ।

