%20(2)(1).jpg)
फिल्म छायांकनमा नजाँदासम्म कलाकार ‘इन’ र ‘आउट’को खेल चलि नै रहन्छ । कति फाइनल स्क्रिप्ट चित्त नबुझेर बाहिरिन्छन् त कति टिमभित्रको खटपटले अलग हुन्छन् । यस्तैमा, फिल्म ‘प्रसाद २’मा पनि टिम परिवर्तनको खेल भइरहेको छ । सौरभ चौधरीले निर्देशनबाट हात झिकेपछि फिल्ममा सुदर्शन थापा भित्रिए । अब अभिनेता निश्चल बस्नेतले फिल्म छाडेको खबर प्राप्त भएको छ ।
गत वर्ष निश्चलले फाइनल स्क्रिप्ट र आफ्नो चरित्रमा चित्त बुझाएपछि फिल्म साइन गरेका थिए । यो फिल्मको अघिल्लो श्रृंखलामा उनको मुख्य भूमिका रहेकाले सिक्वेलमा उनको निरन्तरता अनिवार्य थियो । उनी भएपछि फिल्मको इनिसियल व्यापार बलियो हुने विश्वासले पनि निर्माण टिमले मोटो पारिश्रमिकमा उनलाई अनबुन्ध गराएको थियो । तर, अब उनी फिल्ममा नरहने भएका छन् ।
विश्वस्त स्रोतले दिएको जानकारी अनुसार, निश्चलले करीब दुई हप्ता अगाडि नै फिल्म छाडेका हुन् । तर, निर्माण टिमले यसबारेमा कुनै जानकारी दिएको छैन । स्क्रिप्टसँगै निर्देशक परिवर्तनका कारण उनले फिल्मबाट हात झिकेको हुनसक्ने स्रोत बताउँछ । उनी फिल्मबाट बाहिरिएपछि निर्माण टिमले उनको ठाउँमा एक चलेका अभिनेतासँग कागजी सम्झौता गरिसकेको जानकारी प्राप्त छ ।
फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ भने यथावत् छन् । अहिले निर्देशक सुदर्शन थापा र लेखक सुशील पौडेल ‘प्रसाद २’को स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । फिल्मलाई सुभाष थापाले निर्माण गर्न लागेका हुन् । यो फिल्मको अघिल्लो श्रृंखला समीक्षात्मक र व्यवसायिक हिसाबले सफल भएको थियो । फिल्मको ‘लै लै’ र ‘वनकी चरी’ गीत अहिले पनि चर्चामा छ ।

