अहिले पाकिस्तानको वित्तीय अवस्था राम्रो छैन । यहाँको राजनीतिक अस्थिरता केही समयलाई शान्त भएपनि वित्तीय अस्थिरतामा सुधार गर्न मुश्किल देखिएको छ । सन् २०२२ को दोस्रो चौमासिकमा पाकिस्तानको ऋण ५ हजार २ सय ७२ करोड पुगेको छ । पाकिस्तान सरकारसँग देश चलाउनका लागि समेत पर्याप्त पैसा छैन । त्यसमाथि पाकिस्तानको रुपैयाँ पनि कमजोर बनेको छ ।
देशको आर्थिक अवस्था कमजोर बन्न थालेपछि यसको असर पाकिस्तानी फिल्ममा देखिन थालेको छ । पाकिस्तानको अन्दरूने मुल्कबाट बाहिरिएको जानकारी अनुसार, यहाँको फिल्म इन्डस्ट्रीमा ठूलो क्राइसिस आएको छ । मानिसहरु फिल्म हेर्न हलमा जान छाडेका छन् । जसले गर्दा अधिकांश सिंगल स्क्रिन र मल्टीप्लेक्सलाई भाडा र विजुलीको बिल जुटाउन समेत मुश्किल परेको छ ।

डनको एक रिपोर्ट अनुसार, पाकिस्तानको कराचीमा एक पपुलर थिएटर कापरी सिनेमाले फिल्म देखाउनका लागि नयाँ नियम बनाएको छ । जसअनुरुप यो सिंगल थिएटरमा प्रत्येक हप्ताको तीन दिन मात्र फिल्म प्रदर्शन हुनेछ । तर, हप्तामा तीन दिन फिल्म प्रदर्शन गर्दा पनि मानिसहरु हलमा गएका छैनन् । मानिसहरु हल नै आउन छाडेपछि पाकिस्तानी फिल्म मृत्युशैयामा पुगेको छ ।
कोरोना महामारीका कारण बन्द सिनेमा हल जब पाकिस्तान सरकारले खोल्न अनुमति दियो तब थिएटर सञ्चालकहरुले हल खोल्न चाहेका थिएनन् । पाकिस्तानमा बलिउड फिल्मको शोज बन्द भएपछि वितरक र हल सञ्चालकबीच शितयुद्ध चलिरहेको थियो । त्यसमाथि कोरोनाले पटक-पटक हलहरु बन्द हुँदा अवस्था झन् विग्रियो । पाकिस्तानमा फिल्म ‘हाफ-डेथ’ भइसकेको बताइन्छ ।
दुई ठूला पाकिस्तानी फिल्म प्रदर्शनको संघारमा रहँदा पाकिस्तानी फिल्म इन्डस्ट्रीमाथि संकट मडारिएको हो । यसमा माहिरा खान अभिनीत फिल्म ‘कायदे आजम जिंदाबार’ र हुमायू सईदको ‘मैं लंदन नहीं जाउंगा’ छन् । माहिराले सुपरस्टार शाहरुख खानसँग बलिउड फिल्म ‘रइस’मा समेत अभिनय गरेकी थिइन् । उनका फिल्मले पाकिस्तानमा ठूलो सफलता हासिल गर्ने गरेका छन् ।

