Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ हिरोइनको तारिफमा सन्तोष लेख्छन्, ‘खास प्रेमको गीत तिमी हौ’

फिल्मीखबर, काठमाडौं, 2022/06/25
नेपालमा केही फिल्मका सिरिजलाई दर्शकहरुले आँखा चिम्लिएर विश्वास गर्ने गर्दछन् । त्यसमध्येमा पर्छ, ‘प्रेमगीत’ ब्रान्ड । यसको पहिलो श्रृंखलालाई मिलेको उत्कृष्ट प्रतिक्रियाको आधारमा निर्माता सन्तोष सेनले दोस्रो सिरिज बनाएका थिए । अब यो नामको तेस्रो श्रृंखला आगामी असोज ७ गतेबाट नेपालसँगै छिमेकी देश भारतका हलमा हिन्दी डबिङ गरेर ‘विश्वजीतम्’ नाममा प्रदर्शन हुँदैछ । 
 
कोरोना महामारी नफैलिएको भए ‘प्रेमगीत ३’ २०७६ सालको चैत २८ गते नै प्रदर्शन भइसकेको हुने थियो । तर, कोरोना संक्रमण रोकथामका लागि सरकारले हल बन्द गर्ने निर्णय गरेपछि फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकियो । यसपछि केही पटक फिल्मको प्रदर्शन मिति घोषणा गरिए पनि रिलिज सम्भव भएन । अब भने निर्माण टिम आगामी दशैं नछाड्ने मनस्थितिमा छ । 
 
Santosh Sen And kristina gurung
 
यो फिल्मबाट अभिनेत्रीको रुपमा क्रिस्टिना गुरुङको उदय हुँदैछ । कोरोना महामारीले फिल्मको रिलिज नविथोलेको भए दर्शक, समीक्षक र फिल्मकर्मीहरुले उनको कामको मुल्यांकन गरिसकेका हुने थिए । यतिबेलासम्म उनको करिअरले पनि एउटा बाटो समातिसकेको हुने थियो । तर, निर्माणको तीन वर्षसम्म पनि फिल्म प्रदर्शन नहुँदा उनी धेरै अवसरहरुबाट बञ्चित हुनु परेको छ ।
 
आफ्नो डेब्यू फिल्मको प्रतिक्षामा क्रिस्टिनाले धेरै फिल्मको अफर समेत अस्वीकार गरेको फिल्मका निर्माता तथा निर्देशक सेनले बताएका छन् । अब क्रिस्टिनाको प्रतिभाको बाण सिधा दर्शकको छातिमा लाग्ने उनको दाबी छ । उनले फेसबुकमा लेखेका छन्, ‘तिम्रो त्यो मेहनत, साधना र धैर्यता सायदै कसैमा होला  । मेरो निकटमबाट आएको कयौं प्रोजेक्टलाई आँखा बन्द गरेकी छौ ।’ 
 
‘प्रेमगीत ३’का लागि क्रिस्टिनाले आफ्नो विकल्प कोही हुन नसक्ने प्रमाणित गरेको समेत सेनले बताएका छन् । उनले क्रिस्टिनाको तारिफमा अगाडि लेखेका छन्, ‘निर्देशकको हिसाबले हेर्दा त्यो पात्रको आत्मा भेटेको छु । आज गर्वसाथ भन्न सक्छु खास प्रेमको गीत तिमी हौ । नेपाली दर्शक मात्र हैन तिम्रो चलचित्र यात्राको सुरुवात नै संसारका कयौं भाषी दर्शकको मनको दैलोबाट हुँदैछ ।’
 
विभिन्न स्क्रिनिङमा पाएको नतिजाको हिसाबले नेपालसँगै छिमेकी राष्ट्रमा समेत क्रिस्टिनाको पाइला अगाडि बढ्नेमा उनको विश्वास छ । ‘यसरी नै कला, साधनालाई निरन्तरता दिनु, ७ गाउँ र प्रेमको मात्र हैन सारा संसारको ‘गीतु’ हुनेछौ । चलचित्रको गीत अथवा ट्रेलर केही दिनमा रिलिज गर्दैछौं,’ निर्माता सेनले लेखेका छन् । क्रिस्टिना गुरुङलाई अडिसनबाट निर्माण टिमले छनोट गरेको हो ।
 
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्ममा क्रिस्टिनाको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।