
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘प्रेमगन्ज’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘माथि माथि आकाशमा’ बोलको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत छ । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोलाई सञ्जय लामाले खिचेका हुन् । गीतमा दुई पुस्ताको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।
टिनएजर प्रेमजोडीको रुपमा राइडर प्रशन र सुप्रिया खनाल प्रस्तुत छन् भने उनीहरु ठूलो भएपछिको भूमिकामा बेनिशा हमाल र तेज गिरी देखिएका छन् । गीतको भिडियोमा उनीहरुबीचको प्रगाढ र निश्चल प्रेमलाई देखाइएको छ । तर, गीतभरी उनीहरुले एकअर्कालाई छोएको एउटै दृश्य छैन । कोरियोग्राफीको यो शैलीलाई निर्देशक परिच्छेद सेन फिल्मको टर्निङ पोइन्ट बताउँछन् ।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक परिच्छेद आफैं हुन् । डेढ करोडको लगानीमा बनेको फिल्ममा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पवन भट्टराई, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीलगायतको पनि अभिनय छ । राजु फुयाँलको प्रस्तुति रहेको ‘प्रेमगन्ज’ चलचित्र चौतारीको ब्यानरमा बनेको हो ।

