Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीत रिलिज, पुष्प र श्रद्धाको जमेको केमेस्ट्री

फिल्मीखबर, काठमाडौं, 2022/06/24
Puspa Khadka & Shraddha Chhetri
 
दीपक वलीले निर्देशन गरेको लभस्टोरी फिल्म ‘कृष्ण लीला’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीको विश्वज्योति हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘ए मेरो हजुर’ बोलको गीतमा रवि ओड र सुनिता कार्कीको युगल आवाज सुन्न सकिन्छ भने डिआर उपाध्यायको शब्द रचना तथा बाबुल गिरीको संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । 
 
तिलिचो ताल र त्यसमाथिको क्षेत्रमा छायांकन भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको केमेस्ट्री जमेको छ । गीतको अडियो पक्ष र भिडियोमा कोरियोग्राफी औसत देखिए पनि तिलिचोलाई हिउँले ढाकेको दृश्यले मन जित्छ । लोकेशनले भिडियोमा प्राण भरेको छ । भिडियोमा माइकल चन्दको कोरियोग्राफी र उत्सव दाहालको छायांकन छ । 
 
पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई, आयुषा क्षेत्रीलगायतको अभिनय रहेको फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । यस फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । 
 
रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । गत वर्ष सार्वजनिक भएको फिल्ममा समावेश ‘कुनै दिन’ बोलको रोमान्टिक गीत हिट भइसकेको छ । यो फिल्म आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।