
रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक दुईवटा पोस्टरले फिल्मको थिम बोल्छ । एउटा पोस्टरमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा छन् भने अर्कोतिर पैसाको भारी छ । त्यस्तै, दोस्रो पोस्टरमा सौगात र सृष्टि पैसाको विछ्यौनामा प्रेमिल मुद्रामा प्रस्तुत छन् ।
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले आर्थिक अवस्था कमजोर भएका कारण पैसाका लागि अवैध रुपमा अरुलाई बच्चा जन्माइदिन बाध्य एक दम्पत्ती (सौगात र सृष्टि) को कथालाई पेश गरिएको छ । फिल्ममा आत्मीयता र भावनात्मक सम्बन्धसँगै हास्यरस मिसिएको निर्देशक रन्जित रौनियारले बताएका छन् । रन्जितले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता उद्धव पौडेल हुन् । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतको अभिनय छ । सौगातले अन्य फिल्मभन्दा ‘माइकल अधिकारी’को कथावस्तु पृथक रहेको बताएका छन् । फिल्मको छायांकन इलाम र झापामा भएको हो ।

