
अभिनेता सौगात मल्लको करिअरकै सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट पाँचौं हप्तामा प्रवेश गर्दा उनको नयाँ फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । निर्माण भएको चार वर्षपछि प्रदर्शनमा आएको फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ भने जेठ १३ को ‘कबड्डी ४’ र असार ३ को ‘चिसो मान्छे’ले हल नछाड्दा सिंगल थिएटर पनि पर्याप्त पाएको छैन ।
यो फिल्मलाई बक्सअफिसमा शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउडको ठूलो फिल्म ‘जुग जुग जियो’ चुनौती बन्ने देखिन्छ । यो फिल्मले भारतमा सानदार समीक्षा पाएकाले नेपालमा राम्रो कमाई गर्ने आँकलन गरिएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा राजधानीमा गरिएको प्रिमियरमा ‘घनचक्कर’ले सुखद् प्रतिक्रिया बटुलेको थियो । फिल्मले पैसाको चक्करमा लागेका पात्रहरुको कथा भन्छ ।
जितेन्द्र राजोपाध्यायको निर्देशनमा तयार भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजि लिम्बुको पटकथा-संवाद छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुना अर्याल र संगम भट्ट निर्मातामा छन् ।
कमेडी जनरामा निर्मित फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्मातामा छन् । फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको अभिनय रहेको छ । सुनिल मानन्धरले फिल्मलाई वितरण गरेका छन् ।

