Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पशुपतिनाथमा पूजा गरेपछि अनुपमले भने- ‘यहाँ आउँदा उर्जा मिल्छ’

फिल्मीखबर, काठमाडौं, 2022/06/23
anupam kher
 
बलिउडका नामी अभिनेता अनुपम खेरका लागि नेपाल पानी पधेरो झैं हुन थालेको छ । केही वर्षयता उनको नेपाल ओहोर-दोहोर बाक्लिएको छ । २०७१ सालमा कोसेली स्कुलमा पढ्ने सुकुम्बासी र मजदुरका सन्तानलाई सहयोग जुटाउन आयोजित च्यारिटी शोमा सहभागी हुन नेपाल आएका उनी गत वर्ष फिल्म ‘उचाईं’को सुटिङका लागि करीब २०-२५ दिन लुक्ला क्षेत्रमा बसेका थिए ।
 
‘उचाईं’को छायांकनका लागि नेपाल आउँदा उनले पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिए । त्यसबेला उनले एक भिडियोमार्फत् पशुपतिनाथमा दर्शन गर्ने सौभाग्य प्राप्त भएकोमा खुशी व्यक्त गरेका थिए । उनले एकपटक फेरि काठमाडौं आएको मौकामा पशुपतिनाथको दर्शन गरेका छन् । बिहीवार उनले पशुपतिनाथको गेट अगाडि बनाएको एक भिडियो इन्स्टाग्राममा राखेका छन् ।
 
भिडियोमा अनुपम खेरले भनेका छन्, ‘आज एकपटक फेरि मलाई काठमाडौंमा रहेको भगवान् पशुपतिनाथको मन्दिरमा प्राथना गर्ने अवसर प्राप्त भयो । यो मन्दिर र यहाँको शिवलिङ्ग हजारौं वर्षदेखि छ । यहाँ आउन पाउँदा मनलाई शान्ति त मिल्छ नै, उर्जा पनि प्राप्त हुन्छ । मानिसहरुको भीडभीड, पूजाआजा, जय भोलेनाथ, हर हर महादेव भनेको सुन्दा मनलाई निकै शान्ति मिल्छ ।’ 
 
एक कार्यक्रममा सहभागी हुनका लागि बुधवार काठमाडौं ओर्लिएका उनले बिहीवार विहानै पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् । उनले बिहीवार कार्यक्रम सकाएर स्वदेश फर्किएको जानकारी प्राप्त छ । पछिल्लो रिलिज फिल्म ‘द कश्मिर फाइल्स’को सफलता र यसमा गरेको बुलन्द अभिनयले अनुपम चर्चामा छन् । यो फिल्मले भारतमा मात्र २ सय ५० करोडमाथि कमाएको छ ।