Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाबरी’को गीत टिकटकमा र ‘सम्हालिन्छ कहिले मन’को गीत यूट्युबमा हिट

फिल्मीखबर, काठमाडौं, 2022/06/23
Pooja Sharma, Sonam Topden  and  Dhiraj Magar, Aditi Budhathoki
 
गत साता तीन दिनको अन्तरालमा यूट्युब प्लेटफर्ममा सार्वजनिक भएका दुई गीत हुन्, फिल्म ‘बाबरी’को ‘बाबरी रंग’ र फिल्म ‘सम्हालिन्छ कहिले मन’को ‘जरुरी कुरा छ’ । यूट्युबमा रिलिज भए लगत्तै ‘सम्हालिन्छ कहिले मन’को गीतले आक्रामक भ्यूजसहित यूट्युबमा ट्रेन्डिङ यात्रा थालेको थियो । तर, ‘बाबरी’को गीतलाई तीन दिनमा दुई लाख भ्यूज कटाउन पनि धौ-धौ परेको थियो ।
 
यतिबेला ‘जरुरी कुरा छ’ गीत १५ लाख प्लस भ्यूजसहित यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । ‘बाबरी रंग’ गीत भने ट्रेन्डिङमा उक्लिएको छैन । तर, यो गीतमा टिकटक बनाउनेको संख्या बढ्न थालेपछि यसको फाइदा यूट्युब भ्यूजमा देखिएको छ । अहिले यो गीतले भ्यूजमा ‘जरुरी कुरा छ’लाई टक्कर दिइरहेको छ । ‘बाबरी रंग’ गीतलाई ८ दिनमा १२ लाख बढी भ्यूज मिलिसकेको छ ।
 
तलनात्मक रुपमा ‘सम्हालिन्छ कहिले मन’को गीतभन्दा ‘बाबरी’ गीतमा टिकटक बनाउनेको संख्या बढी छ । गीतको ‘बाबरी रंगमा रंगिएर’ लाइनलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् भने यही लाइनमा टिकटक बनाउनेको संख्या ठूलो छ । पछिल्लो समय टिकटकमा गीत हिट हुनु फिल्मका लागि अत्यन्त फाइदाजनक मानिन्छ । किनकि, अचेल टिकटकमा झुमिनेको जमात ठूलो छ । 
 
‘सम्हालिन्छ कहिले मन’ र ‘बाबरी’ दुवै फिल्मको गीतको अडियो र भिडियो बलियो बनेकाले पनि दर्शकको रोजाईमा परेको हो । सामाजिक सञ्जाल टिकटक र यूट्युबमा गीत हिट हुनु भनेको फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्नु मानिन्छ । केही फिल्मको हकमा यो देखिएको पनि छ । अब यी दुई फिल्मलाई गीत हिट हुनुको फाइदा बक्सअफिसमा कति पुग्छ, त्यो भने हेर्न बाँकी छ । 
 
भदौ १७ गतेबाट प्रदर्शनमा आउने सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीतमा अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द रहेको छ भने अञ्जु पन्त र सुरेश लामाको स्वर छ । त्यस्तै, भदौ ३१ गतेबाट प्रदर्शनमा आउने सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर छ । गीतको शब्द तथा संगीत अनमोलको नै हो ।
 
‘सम्हालिन्छ कहिले मन’को गीत हेर्नुहोस् :-
 

 

‘बाबरी’को गीत हेर्नुहोस् :-