
नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपाललाई नेपाली फिल्मको अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । मिस नेपालको उपाधि जितेका रुबि राणादेखि झरना बज्रचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठ, निकिता चाण्डकसम्म अभिनेत्री बनिसकेका छन् । तर, नेपाली फिल्ममा मिस नेपाल विजेताको उपस्थिति खासै बलियो देखिएको छैन । प्रायः मिस नेपाल फिल्ममा असफल छन् ।
शनिवार नेपालले २०२२ का लागि नयाँ मिस नेपाल वर्ल्ड पायो । प्रियंका रानी जोशीले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । उनी मिस नेपाल भएसँगै उनको फिल्म प्रवेशलाई लिएर चासो सुरु भएको छ । तर, उनले सोमवार अनामनगरस्थित जन्मघर प्रवेश गर्ने क्रममा आफूलाई फिल्म हेर्न रुचि भएपनि अभिनयमा पोख्त नभएकाले अभिनेत्री बन्नेबारेमा अहिल्यै केही नसोचेको बताइन् ।
उनले भनिन्, ‘मलाई फिल्ममा आउने त्यस्तो कुनै सोच छैन । मलाई फिल्म हेर्न जति रुचि भए पनि अभिनयमा त्यस्तो पोख्त छु जस्तो लाग्दैन । मेरो परिवार सुनचाँदी व्यवसायमा आबद्ध भएकाले जेमोलोजी पढ्छु भन्ने सोच बनाएको छु । तर, फिल्ममा आउने विषयमा अहिलेसम्म त्यस्तो केही सोच बनाएको छैन ।’ जोशीले अब आफू मिस वर्ल्डका लागि तयारी गर्ने पनि जानकारी दिइन् ।

पत्रकारहरुसँग संक्षित कुराकानी गर्दै उनले अगाडि भनिन्, ‘म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास छाड्ने छैन । अबको तयारी मिस वर्ल्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोशिश गर्नेछु ।’ मिस नेपाल वर्ल्ड बन्न वर्षौंदेखि बुनिरहेको सपना साकार हुँदा त्यसलाई व्यक्त गर्न आफूसँग कुनै शब्द नै नभएको उनको भनाई छ ।

