Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ४’को सफलताको फाइदा सौगातको ‘घनचक्कर’लाई होला ?

फिल्मीखबर, काठमाण्डौ, 2022/06/20
कोरोना महामारीयता अभिनेता सौगात मल्ल अभिनीत फिल्महरु लगातार रुपमा प्रदर्शन भइरहेका छन् । गएको तीन महिनामा उनका तीन फिल्म ‘लप्पन छप्पन २’, ‘मन्त्र’ र ‘कबड्डी ४’ प्रदर्शनमा आए । त्यसमध्ये ‘कबड्डी ४’ले मात्र इतिहास रच्यो । यो उनको करिअरकै सबैभन्दा ब्लकबस्टर फिल्म बनेको छ । अब उनी अभिनीत फिल्म ‘घनचक्कर’ असार १० गतेबाट प्रदर्शनमा आउँदैछ ।
 
saugat malla
 
सौगातले करीब ४ वर्ष अगाडि यो फिल्ममा काम गरेका हुन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी यतिबेला प्रचार प्रसारमा दौडिहेका छन् । ‘कबड्डी ४’को तात्तातो सफलताको फाइदा ‘घनचक्कर’लाई पुग्न सक्ने विश्लेषण कतिपयको छ । किनकि, यो फिल्म प्रदर्शनमा आउँदा ‘कबड्डी ४’ ५औं हप्तामा प्रदर्शन भइरहेको हुनेछ । यो फिल्मले सौगातको स्टारडम समेत चुल्याएको छ ।
 
तर, उनी आफ्नो फिल्मले यति कमाओस् भन्ने भन्दा पनि, राम्रो चलोस् भन्ने आश सधैं हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘नचल्न पनि सक्छ र धेरै चल्न पनि सक्छ भन्ने सम्भावना हरेक फिल्मले बोकेको हुन्छ । तर, मलाई फिल्मले यति कमाओस् भन्दा पनि राम्रो चलिदियो भने मैले अरु फिल्ममा काम गर्न पाउँछु भन्ने चाहिँ लाग्छ । काम विना त म आफूलाई पनि कल्पना गर्न सक्दिनँ ।’
 
‘घनचक्कर’मा आफूले गाउँबाट शहर आएको पात्रको भूमिकामा अभिनय गरेको सौगातले बताए । शहर आएपछि उनको पात्रले पैसा कमाउन गर्ने चक्करको कथा फिल्ममा देखाइएको छ । वास्तविक जीवनमा पनि संघर्षका दिनमा पैसाका लागि म्यूजिक भिडियोमा अभिनयदेखि नाटक निर्देशनसम्म गरेको उनी सम्झन्छन् । तर, त्यसबाट आफूले धेरै कुरा सिकेको उनको भनाई छ ।
 
जितेन्द्र राजोपाध्यायको निर्देशनमा तयार भएको फिल्ममा सौगातका अलावा सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको अभिनय छ । हरिभट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुना अर्याल र संगम भट्ट निर्मातामा छन् ।